बझाङ: श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।
शुक्रबार राति तीन बजे श्रीमती घरबाट निस्किएको र करिब दुई घण्टा तल रहेको सेती नदीको पुलबाट हाम फालेको श्रीमान् राजेश साउदले बयान दिएको ठगुन्नाले बताए । ‘धर्मालाई आफूलगायत केही मान्छेले पछ्याउँदै गएको र श्रीमतीले हेर्दाहेर्दै हाम फालेको बयान दिएका छन्, ठगुन्नाले भने, ‘अभियुक्तको बयान, घटनाको समय आदी कारणले घटना शंकास्पद देखिन्छ । पोस्टमार्टम रिपोर्ट आएपछि हत्या वा आत्महत्या के हो भन्ने थप खुल्नेछ ।