धनगढी । भीम सार्की र विवेक यादव चम्किएपछि सिवाइसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको आइतबारको पहिलो खेलमा अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । अत्तरियाले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर एक सय ३८ रन बनायो ।
उसका लागि हिमाल दुलियाले ३९, बसन्त खत्रीले २३ तथा सुमित बडालले १८ रन जोडे । अत्तरियाका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे । चार ओभरमा २५ रन दिएका यादवले चार विकेट लिए । साहब आलम र कमल गुप्ताले समान दुई–दुई तथा दिपेश कडेलले एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । अत्तरियाका लागि भीम सार्कीले ७० रनको अविजित पारी खेले । उनले ३३ बलमा छ चौका र चार छक्का प्रहार गरे । यस्तै तृतराज दासले ३०, शंकर रानाले २५ रन जोड्दा विवेक यादव १७ बलमा २५ रनमा अविजित रहे । बैतडीका अमर रौतेलाले दुई तथा रुपेश सि।हले १ विकेट लिए । खेलका म्यान अफ द म्याच अत्तरियाका विवेक यादव भए ।
प्रतियोगिताअन्तर्गत अहिले डीसीए धनगढी र घोडाघोडी–११ बीच खेल भइरहेको छ । शनिबारदेखि गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले १० लाख नगद तथा उपविजेताले पाँच लाख नगदसहित ट्रफी पाउने छन् । क्रिकेट संघको क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा देशभरका आठ टिमको सहभागीता रहेको छ ।