धनगढी । कञ्चनपुरमा मृत भेटिएका नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनीको अन्त्येष्टि गरिएको छ । शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका कलौनीको आइतबार महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।
कलौनीको अन्तिम संस्कार गर्नुअघि उनको पार्थिव शरीर नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखेर गृहमन्त्री रमेश लेखकसहितका कांग्रेस नेताहरूले श्रद्धाञ्जली दिएका थिए ।
कलौनीको शव परीक्षणपछि अन्तिम संस्कार गरिए पनि उनको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । भेरी प्रादेशिक अस्पतालका विशेषज्ञ चिकित्सक टोलीले महाकाली प्रादेशिक अस्पातलमा शव परीक्षण गरेका हुन् । तर, शव परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।
डीएसपी उमेशराज जोशीले कलौनीको मृत्यु के–कसरी भयो ? भन्ने कुरा नखुलेको बताए । उनको शरीरमा बाहिर देखिने घाउ, चोटपटक नभएको बताउँदै शव परीक्षण रिपोर्टपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले लिएको छ ।
तर, शुक्रबार राति भने कलौनी शव भेटिएको स्थान नजिकै हिँडिरहेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रराज जोशीले राति करीब साढे ९ बजेको समयमा कलौनी शव भेटिएको स्थान नजिकै हिँडिरहेको फुटेजमा देखिएको बताए । तर, शव भएको स्थानसम्म सीसीटीभी क्यामेराको पहुँच नभएकाले घटनाबारे यकिन गर्न नसकिएको उनी बताउँछन् ।
‘शुक्रबार राति करिब साढे ९ बजेको समयमा उहाँ कलौनी सडक पेटीमा एक्लै हिँडिरहेको दृश्य सीसीटीभीमा कैद भएको देखिएको छ,’ एसपी जोशीले भने, ‘तर, शव भएको ठाउँमा क्यामेराको एक्सेस देखिएन । त्यसैले अहिले नै केही भन्न सक्ने अवस्था छैन, अनुसन्धान गर्दैछौं ।’
कलौनी राति साथीहरूसँग छुट्टिएर एक्लै घर हिँडेका थिए
पारिवारिक स्रोतकाअनुसार कलौनी धनगढी जाने भन्दै शुक्रबार घरबाट निस्किएका थिए । तीन जना साथीसँगै धनगढी आएका उनी अबेर साँझ मात्र महेन्द्रनगर पुगेका थिए ।
एसपी जोशीका अनुसार साँझपख महेन्द्रनगर पुगेका उनीहरू मदन चोकबाट छुट्टिएका थिए । कलौनीसँगै धनगढी आएकाहरूले प्रहरीलाई बताएअनुसार हिँडेर घर जाने भन्दै उनी राति गाडीबाट ओर्लिएका थिए ।
‘शुक्रबार साँझ मदनचोकबाट उहाँ कलौनी साथीहरूसँगबाट छुट्टिनु भएको भन्ने छ । त्यसपछि पेट र छाती दुःख्यो भनेर महाकाली प्रादेशिक अस्पताल पुगेर औषधि लिनुभएको रहेछ,’ एसपी जोशीले भने, ‘उहाँको खल्तीमै ग्यास्ट्रिकको ट्याबलेट समेत भेटिएको छ ।’
कलौनीसँगै दिनभरि रहेका साथीहरूसँग सोधपुछ गर्ने काम भइसकेको प्रहरीले बताएको छ । मृतकका परिवारले कलौनीको हत्या भएको आशंका गरे पनि प्रहरीले हालसम्म मृत्यु कसरी भएको हो रु भनेर भन्न सकिने अवस्था नरहेको जनाएको छ ।
कलौनीले बोकेको मोबाइल फोन समेत फेला परेको छैन । मोबाइलको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोबाइल फेला नपर्नुले उनको हत्या गरिएको आशंका परिवारको छ । प्रहरीले भने घटनाबारे मिहिन ढंगले विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न भिसेरा परीक्षणका लागि नमुना संकलन गरिएकाले नेपाल प्रहरीको केन्द्रीय विधि, विज्ञान प्रयोगशाला पठाइने प्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को टोलीले पनि अनुसन्धान अघि बढाएको छ ।