जनकपुर — भारत, उत्तर प्रदेशको प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटनामा पर्दा ५ जना नेपालीको मृत्यु भएको छ । मृतक ५ जना महोत्तरी जिल्लाको रहेको नेपाल प्रहरीले जनाएको छ । कुम्भ मेलाबाट ९ जना नेपाली बोकेर फर्किरहेको भारतीय नम्बर बीआर ३२ पीए ४६६१ नम्बरको स्कर्पियो गाडी बिहारको मुज्जफरपुरमा साइकललाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा बजारिँदा ५ जना नेपाली नागरिकको मृत्यु भएको छ । नेपाली प्रहरी मधेशका प्रमुख डीआईजी लालमणि आचार्यका अनुसार गाडी दुर्घटनाग्रस्त भएलगत्तै ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा एकजान ट्राफिक प्रहरी पनि घाइते भएका छन् । दुर्घटनामा घाइते भएका ३० वर्षका मनोहर ठाकुर ट्राफिक प्रहरी हुन् । दुर्घटनामा उनकै परिवारका धेरैजना हताहती भएका छन् ।
‘हाम्रो प्रहरी पनि दुर्घटनामा परेपछि विहार प्रहरीबाट घटनाबारे जानकारी भयो,’ डीआईजी आचार्यले भने,‘घटनाका बारेमा बुझ्दै छौं । ठूलो क्षति भएको रहेछ ।’ बिहारको सहर मुज्फरपुरमा आइतबार अबेर साँझ नेपाली तीर्थ यात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीको डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । दुर्घटनामा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षकी अर्चना ठाकुर, ६० वर्षीय बालाकृष्ण झा, ५५ वर्षीया इंदु देवी र चालक रहेका छन । चालकको नाम खुलेको छैन । तर, चालक सिरहाको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर, जगतारण देवी छन् । घाइतेहरुको बिहारको मुज्जफरपुरस्थित श्रीकृष्ण मेडिकल कलेज ९एसकेएमसीएच०मा उपचार भइरहेको छ ।