काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चामा छिन् गायिका एलिना चौहान । विष्णु सापकोटासँगको सम्बन्ध विच्छेद(डिभोर्स) को तयारीका कारण उनको चर्चा चुलिएको हो । गत शुक्रबार उनले पति विष्णुसँग डिभोर्स माग्दै जिल्ला अदालत काठमाडौँमा सम्बन्ध मुद्दा दायर गरेकी छिन् । पहिले प्रेम, त्यसपछि ब्रेकअप । फेरि प्रेमसँगै गत ५ वैशाखमा विवाह गरेकी उनको पछि विष्णुसँग डिभोर्सको हल्ला केही समयदेखि चल्दै आए पनि आधिकारिक रूपमा बाहिर आएको थिए । उनले यस विषयमा समय आएपछि बोल्ने बताउँदै आएकी थिइन् । अन्ततः, उनी अदालतसम्म पुगेकी छन् ।
डिभोर्सको मुद्दामा उनले पतिले मानसिक तनाव दिएको, शङ्का उपशङ्का गरेको, चरित्रमाथि प्रश्न उठाएको लगायत आरोपसमेत लगाएकी छन् । उनले मुद्दामा ‘माना चामल’ र ‘अंश’को दाबी समेत नगर्ने बताएकी छन् । अचम्मको कुरो के छ भने डिर्बोसका लागि अदालतमा मुद्दा फाइल गरिसक्दा पनि उनको पति विष्णु माथिको माया अलिकति पनि घटेको छैन । जसको जल्दोबल्दो उदाहरण शनिवार बिहानको उनको सामाजिक सञ्जालको लाइभलाई लिन सकिन्छ । लाइभ अवधिभर निकै भावुक देखिएकी उनले पति विष्णुलाई भने गाढा माया देखाइन् ।
विष्णुसँग आफूले प्रेम विवाह गरेको र उक्त विवाह गर्नु अलि हतार महसुस गरेकी उनले मुद्दा आफैले दायर गरे पनि पति विष्णुको माया अझै रहेको बताएकी छन् । सोही कारण पनि उनले सामाजिक सञ्जालका विष्णुलाई गाली देख्दा चित्त दुखेको भन्दै गाली नगर्न अनुरोध गरेकी छन् ।
उनले भनेकी छन्, ‘मायाको कुरा गर्दा कस्तो हुँदो रहिछ भने आफूले माया गरेको मान्छेलाई गाली गर्दा खेरी आफूले नै गाली खाएभन्दा अझ धेरै पीडा हुँदो रहेछ । त्यसैले तपाईँहरू धेरैले यो समयमा मलाई साथ दिन्छु भन्ने सोचिरहनु भएको छ भने ठिक छ साथ दिनुस् । तर, उहाँलाई नराम्रो नभन्नुहोला उहाँलाई गाली नगर्नुहोला ।’ उनले विष्णुको सट्टा आफैलाई गाली गर्न समेत अनुरोध गरेकी छन् । भिडियोमा उनले आफ्नो जिन्दगी बिगार्न आफू नै जिम्मेवार रहेको समेत उल्लेख गरेकी छन् ।