धनगढी: कञ्चनपुरमा नेपाली कांग्रेसका भीमदत्त नगर समितिका सभापति अच्युत कलौनी मृत फेला परेको घटनामा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ। (शनिबार) बिहान भीमदत्त नगरपालिका–१८ स्थित चोक नजिकै सडकपेटीमा कलौनी मृत फेला परेका थिए।
घटनास्थलमा उनी पेटीमा घोप्टो परेको अवस्थामा थिए। प्रहरी स्रोतका अनुसार उनले प्रयोग गर्ने एक मोबाईल गायब छ। उनको रहस्यमय मृत्युमा घटनास्थलमा मोबाईल नभेटिनु र उनको पर्स सडकमा फेला पर्नुलाई शंकास्पद मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको हो। उनको पर्स कसैले निकालेको र मोबाईल पनि लिएर गएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि प्रहरी यो कुराको अनुसन्धानमा जुटेको छ। परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार कलौनीले दुई मोबाइल बोक्थे। तीमध्ये ‘एन्ड्रोइड’ अपरेटिङ सिस्टम भएको मोबाइल फेला परे पनि अर्को सानो मोबाइल भेटिएको छैन। मृतक कलौनीको शरीरमा कुनै चोटपटक भने छैन। उनी हिजोमात्र धनगढीबाट फर्किएपछि राति घरतर्फ लागेका थिए।
अहिले प्रहरीले घटनास्थल र आसपासका क्षेत्रमा रहेका सीसीटीभी फुटेजको अध्ययन गरिरहेको जनाएको छ भने शवको पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जबाट फरेन्सिक विज्ञहरु महेन्द्रनगर झिकाइएको छ। घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीले यस अगाडि बिहान पनि तालिम प्राप्त कुकुर परिचालन गरी अनुसन्धान सुरु गरेको थियो।यद्यपि, अहिलेसम्म घटनासँग सम्बन्धित थप कुनै ठोस प्रमाण फेला परेको छैन।
कलौनीको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए। यसैबीच, घटनालाई चासो दिदै गृहमन्त्री रमेश लेखक पनि कञ्चनपुर पुगेका छन्। उनीसँगै सुदूरपश्चिमका डीआईजी गणेश चन्द पनि महेन्द्रनगरमै बसेर अनुसन्धान मनिटर गरिरहेको बताइएको छ। उता स्थानीयवासी र पार्टीका कार्यकर्ताले निष्पक्ष छानबिनको माग गरेका छन्।
नेपाल विद्यार्थी संघबाट राजनीति थालेका कलौनी पछिल्लो समय महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए।