धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मिडियामा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुदूरपश्चिम प्रदेशको तेस्रो महाधिवेशनको आज धनगढीस्थित डायमन्डस् कटेजमा उद्घाटन गदै मुख्यमन्त्री शाहले आदिवासी जनजाति पत्रकार नेतृत्व तहमा समेत पुगिरहेको चर्चा गरे ।
प्रदेश सरकारले चाँडै नै आमसञ्चार नीति ल्याउने उल्लेख गदै उनले भने ,“अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो अगाडि बढ्न सकेको छैन । तर, सञ्चार नीतिका लागि धेरै छलफल भइसकेको छ । अब पत्रकारहरूसँग अन्तिम पटक छलफल गरेर यसलाई चाँडै प्रदेश सभामा लैजान्छौं ।”
मुख्यमन्त्री शाहले पछिल्लो समय मिडिया सर्भाइभ हुन कठिन भइरहेको र समस्याका कारण सरकारमाथि अलि बढी निर्भर हुनु परेको बताए । उनले प्रदेश सरकारले पत्रकारको विकासका लागि यो वर्ष पनि बजेट विनियोजन गरेको बताए ।
मुख्यमन्त्री शाहले सत्ता र सरकार नजिक भएकाले अनुदान, सहयोग लगायतका कार्यक्रम अलि बढी पाउने, पहुँच नभएकाले नपाउने जस्ता कार्यलाई निरुत्साहित गर्नु पर्ने बताए । बडघर, भलमनसा ऐन प्रदेश सरकारले चाँडै ल्याउने समेत उनले दावी गरे ।