धनगढी । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी गणेश चन्दलाई बैतडीमा बाजागाजासहित स्वागत तथा सम्मान गरिएको छ। चन्दलाई शुक्रवार उनको गृहजिल्ला समेत रहेको बैतडीमा सम्मान गरिएको हो।
पुर्ख्यौली घरसमेत रहेको पन्चेश्वरको बन्ना नौला पुगेर उनले गणेश्वर मन्दिर दर्शन तथा श्री उदयदेव महाराज मन्दिर निर्माण कार्यको अवलोकन गरेका हुन्।
सो क्रममा स्थानीय बासिन्दाहरूले बाजागाजा सहित उनलाई भव्य स्वागत गरेका थिए। सोही अवसरमा मन्दिरका पुजारी रघुनाथ भट्ट, मन्दिर समिति सचिव देव बहादुर चन्द, तथा पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दद्वारा उनलाई सम्मान गरिएको थियो।
डीआईजी चन्दले मन्दिर निर्माण कार्यको प्रगति बारे जानकारी लिँदै धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले त्यसका लागि आवश्यक सहयोग गरेको र अब पनि गर्ने प्रतिबद्धता जनाएको उदयदेव महाराज मन्दिर समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले बताए।