काठमाडौँ — प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका आठ जना बिहीबार रिहा भएका छन् । इजरायल र हमासबीच जनवरी १५ मा भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार पाँच थाई नागरिक र तीन जना इजरायली नागरिक रिहा भएका हुन् । हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो । तीमध्ये नोभेम्बर २०२३ मा भएको अस्थायी युद्धविरामका बेला १ सय ९ जनालाई हमासले मुक्त गरेको थियो । ८ जनालाई भने इजरायली सेनाले मुक्त गराएको थियो । हमासको नियन्त्रणबाट भागेका ३ जनाको इजरायली सेनाको आक्रमणमा मृत्यु भएको थियो ।
पछिल्लो युद्धविराम सम्झौताअनुसार हमासको नियन्त्रणमा रहेका आठ जना बन्धक रिहा भएका हुन् । रिहा भएका थाई नागरिक इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा रिहाइ गर्ने भनिएका ३३ जनाभन्दा बाहिरका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार थाई नागरिक रिहा गराउन इरानको प्रमुख भूमिका रहेको छ । इरान र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धका कारण इरानको विशेष आग्रहमा हमासले थाई नागरिकलाई रिहा गरेको बताइएको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गत जनवरी १५ (माघ २ मा) हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । यसअघिको युद्धविराम सम्झौता गराउन पनि कतारले मध्यस्थता गरेको थियो । यसपटकको ६ साता लामो युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३३ जना बन्धक रिहा गर्न हमास सहमत भएको थियो । जसअन्तर्गत पाँच इजरायली महिला सैनिकसहित १० जना रिहा भइसकेका छन् । ३३ जना बन्धकको बदलामा इजरायली जेलमा रहेका करिब १ हजार ९ सय प्यालेस्टिनी बन्दी रिहा हुनेछन् । हमासको नियन्त्रणमा रहेका विदेशी नागरिकमध्ये सबैभन्दा धेरै ३१ जना थाई नागरिक थिए । त्यसमध्ये २०२३ को नोभेम्बरमा भएको पहिलो युद्धविरामको अवधिमा २३ थाई रिहा भइसकेका छन् । उनीहरू पनि इजरायल र हमासबीचको वार्तामा तय भएको सूचीभन्दा बाहिरका थिए ।
सूची बाहिरका थाई नागरिक रिहा भए पनि विपिन कहिले बन्धकमुक्त हुन्छन् भन्ने प्रस्ट छैन । पहिलो चरणमा रिहा हुने भनिएका ३३ जनाको सूचीमा समेत विपिनको नाम समावेश छैन । नेपालले भने बलियो श्रम कूटनीतिक सम्बन्ध भएकाले विपिनको रिहाइका लागि पहल गरिदिन कतारलाई सुरुदेखि नै आग्रह गर्दै आएको छ । कतारले हासिल गरेको पछिल्लो समृद्धिमा गएको तीन दशकको अवधिमा मात्रै १९ लाख नेपाली श्रमिकको कडा मिहिनेत, इमानदारी र लगनशीलता जोडिएको छ ।
सन् २०२२ को विश्वकपको पूर्वाधार निर्धारण तथा प्रतियोगितालाई सफल बनाउन नेपाली प्रवासी कामदारको प्रमुख भूमिका रहेको थियो । कतार आफैंले पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो विकासमा पुर्याएको योगदानका लागि नेपालीसहित आप्रवासी समुदायको प्रशंसा व्यक्त गर्दै आएको छ । माघ १३ मा अमिरी दिवानमा ओहदाको प्रमाणपत्र बुझाउन पुगेका नवनियुक्त राजदूत रमेशचन्द्र पौडेलसँग कतारी अमिर शेख तमिम विन हमाद अलथानीले पनि त्यही विषय दोहोर्याएका थिए । ‘नेपाली आप्रवासी समुदायलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ,’ अलथानीको भनाइ उद्धृत गर्दै राजदूत पौडेलले कान्तिपुरसँग भने । राजदूत पौडेलले भने अमिर र कतारलाई विपिनको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको रिहाइको विषयलाई भैंसेपाटी (ललितपुर) स्थित कतारी दूतावासदेखि दोहास्थित अमिरी दिवानसम्म पटक–पटक पुर्याइएको छ । गत अप्रिलमा नेपाल आइपुगेका अमिर अलथानीसँग राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले निकै महत्त्व दिई विपिनको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । यही माघ १ मा इजरायल र हमासबीच दोस्रो युद्धविराम हुने निश्चित भएपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले फोन गरेर कतारका विदेश राज्यमन्त्री महम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् । नेपालले बारम्बार गरिरहेको अनुरोधलाई कतारले कत्तिको गम्भीरतापूर्वक लिएको छ भन्ने प्रस्ट रूपमा खुलेको छैन ।
कतारका लागि नेपालका पूर्वराजदूत नारदनाथ भारद्वाज भने कतारसँग धेरै ठूलो अपेक्षा राख्न नहुने बताउँछन् । ‘इजरायल र हमासबीचको युद्धलाई शान्तिपूर्ण ढंगले अवतरण गराउने विषयलाई कतारले फराकिलो ढंगले हेरिरहेको छ । विभिन्न देशका नागरिक हमासको बन्धकमा रहँदा सबैले कतारसँग अपेक्षा राख्नु स्वाभाविक हो,’ भारद्वाजले भने, ‘हाम्रो र कतारको प्राथमिकता एउटै हुनुपर्छ भन्ने छैन । यस्तो अवस्थामा कतारले एक जना नेपाली बन्धकलाई मात्रै प्रत्यन्न गर्छ भन्नु कतारसँगको हाम्रो बढी अपेक्षा हुनेछ ।’
उनले विपिनको रिहाइ कतारका लागि नेपालीलाई सम्मान देखाउने एउटा दुर्लभ अवसर हुने बताए । ‘कतारको समृद्धिमा नेपालीको अतुलनीय योगदान छ । यो योगदानलाई सम्मान गरेको देखाउने कतारका लागि एउटा दुर्लभ अवसर हो,’ उनले भने, ‘कतारकै पहलमा विपिनलाई यथाशीघ्र रिहाइ गर्न सकियो भने नेपाल र कतारबीचको सम्बन्ध थप उचाइमा पुर्याउनेछ ।’ विपिनका बुवा महानन्द जोशी भने आफूहरू धेरै पर्खन नसक्ने अवस्थामा पुगेको वताए । ‘विपिनसँगै बन्धक गरेर लगिएका थाई नागरिक छुट्दा विपिनको रिहाइ भइरहेको छैन । किन यस्तो भइरहेको छ भनेर हामीले बुझ्ने कुरा भएन,’ विपिनका बुवाले भने, ‘हामी विपिनलाई पर्खिरहेका छौं । सबैका तर्फबाट थप पहल भइदिए हुन्थ्यो ।’ युद्धविराम कसरी अगाडि बढ्छ भन्नेमा आफूहरू डरैडरमा बसेको उनले बताए ।
युद्धविरामको दोस्रो चरणको वार्ता भने पहिलो चरण सुरु भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्णरूपमा फिर्ता हुने जनाइएको छ । तेस्रो तथा अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने सम्झौतामा उल्लेख छ । यो चरणमा बाँकी बन्धक रिहा तथा शवहरू फिर्ता गरिने जनाइएको छ ।