धनगढी: विगत १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहा हुन लागेको भन्ने समाचार बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । समाचारमा हमासले रिहा गर्ने बन्धकहरूको सूची भनेर दाबी गरिएको एउटा कागज सार्वजनिक गरिएको छ, जसमा विपिनको नाम ५८ औँ नम्बरमा रहेको देखाइएको छ । त्यसलाई नै सेयर गर्दै धेरैले सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जोशी रिहा हुन लागेको आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन् । मिडियाले अनावश्यक रूपमा विपिन छुट्न लागेको भन्दै प्रचार गरेकोमा उनले आक्रोश समेत व्यक्त गरेका छन् ।
उनका अनुसार गाजामा युद्धविरामपछि पहिलो दिन तीन जना बन्धक छुटेका थिए भने दोस्रोपटक चारजना छुटे । बिहीबार थप तीन जना इजरायली नागरिकसहित पाँच जना थाई नागरिक छुट्दैछन् । दुई जना थाई नागरिक मारिसकिएको भनिएको छ । उनीहरूको शव कहिले आउँछ भन्ने खुलेको छैन । आजको रिहाइपछि अहिलेसम्मको हिसाबमा हमासको कब्जामा अब बाँकी विदेशीमा दुई जना रहने छन् । जसमा एक जना थाई र एक जना नेपाली छन् । उनीहरूको रिहाइको बारेमा अहिलेसम्म हामीलाई आधिकारिक जानकारी प्राप्त भएको छैन ।
विपिनबारे खबर भाइरल भएपछि धेरैले मलाई यसबारे सोधखोज गर्नुभयो । राजदुत पण्डितले भने “त्यसपछि मैले पनि बुधबार राति नै इजरायलको प्रधानमन्त्री कार्यालयअन्तर्गत बन्दीसम्बन्धी मामिला हेर्ने सल्लाहकारलाई फोन गरेँ । उहाँले फोन उठाउनुभएन । पछि म्यासेज गर्दा उहाँले ‘सरी वी डन्ट ह्याभ एनी अपडेट अनटिल नाउ’ भनेर जवाफ फर्काउनुभयो ।”
मैले पाएको जानकारी यत्ति हो अहिलेसम्म । अरू केही जानकारी छैन । आज थप बन्धकहरूलाई छोडिसकेपछि अवस्था के हुन्छ, त्यो हेर्नुपर्ने हुन्छ । उनले भने “शनिबारबारसम्म अर्को लट छाड्छ रे । हामी त्यसको वेटिङमा छौँ । विपिनको अवस्थाबारे हामीसँग थप प्रमाण र औपचारिक जानकारी नभएको हुनाले त्यसै बोल्ने कुरा भएन । तर, मिडियाले टीआरपीका लागि विपिन रिहा हुने पक्का भयो भन्दै समाचार प्रकाशित ग¥यो । आजसम्म हामीलाई प्राप्त जानकारी अनुसार यसमा कुनै सत्यता छैन । हामी पनि उहाँ छिटो छुट्नुहोस् भन्ने चाहन्छौँ, त्यसका लागि निरन्तर प्रयास गरिरहेकै छौँ । उहाँ छुट्नुहुन्छ र छुटेपछि सुरक्षित घर पु¥याउने बन्दोबस्त गरौँला भनेर पर्खाइमा छौँ ।”
बिपिन बारे जानकारी प्राप्त हुने बितिक्कै यहाँको सेनाले, सरकारले वा प्रधानमन्त्रीले थाहा पाउने बित्तिकै आफुलाई जानकारी दिने बताउँदै राजदुत पण्डितले परिवारको भावनामाथि त्यसरी खेलबाड नगर्न आग्रह गरे ।
विपिन जोशीको प्रतीक्षामा उनको परिवार मात्रै छैन, सिंगो देश नै उनलाई स्वागत गर्न आतुर छ । तर अहिलेसम्म उनको रिहा हुने सूचीमा आधिकारिक रूपमा उनको नाम आएको छैन ।