धनगढी: धनगढीस्थित सीमानाका त्रिनगर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालका कर्मचारी तस्करबाट कुटिएका छन्। (मंगलबार) बेलुका धनगढी उपमहानगरपालिका २ स्थित नलकाघाट क्षेत्रमा सशस्त्रका सहायक हवल्दार प्रकाश ढाँटमाथि आक्रमण भएको हो। सशस्त्रका कैलाली जिल्ला प्रमुख एसपी दलबहादुर पाण्डेले उनको टाउकोमा ढुंगाले हानेर चोट लागेको जानकारी दिए। उनका अनुसार तस्करको समूहबाट उनीमाथि आक्रमण भएको हो।
आक्रमण हुनु अगाडि हिजो नै त्रिनगरका सशस्त्र प्रहरी प्रमुख डीएसपी बिष्णु उप्रेतीको सरुवा भएको थियो। यद्यपि उनले रमाना भने लिइसकेका छैनन्।
स्रोतका अनुसार सहायक हवल्दार प्रकाशसहित सशस्त्रकै अर्का कर्मचारी कालू प्रसाद बुढा पनि चेकिङमा थिए। उनीहरूले चेकजाँच गर्ने क्रममा झाडीमा लुकेर भारतीय नागरिकसमेत रहेका गोबिन्द रानाको समूहले आक्रमण गरेको बताइएको छ।
रानाको समूहले नाकाबाट कपडा र हार्डवेयरको सामान तस्करी गर्ने गरेका छन्। उनीहरूले यस अगाडि सशस्त्रलाई लाइन (घुस) दिएर तस्करी गर्दै आएकोमा मगंलबार चेकिङमा परेपछि आक्रमण गरेको स्रोतको दाबी छ। यद्यपि सशस्त्रले भने सो कुरा अनुसन्धानको दायरामा आउने जनाएको छ। अहिले आक्रमणकारीको प्रहरी लगाएर खोजी हुँदै गरेको एसपी पाण्डेले बताएका छन् भने घटनामा घाइते कर्मचारी उपचारमा छन्। देखिजान्नेका अनुसार सो आक्रमण हुँदाखेरीको भारतीय सुरक्षाकर्मीसमेतले भिडिओ खिचेका थिए। त्यसपछि आक्रमणकारीहरु भागेको बताइन्छ।
त्रिनगर नाकाबाट सशस्त्र र भन्सारको सेटिङमा तस्करी मौलाएको यस अगाडिदेखि नै चर्चा थियो।