धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ५ बैजनाथ टोलमा सुरक्षित आवास परियोजना अन्तर्गत निर्माण भएका १० वटा घरहरू विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०८० र ८१ मा लालझाडी गाउँपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताअन्तर्गत गडबिजुला सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत सञ्चालित सुरक्षित आवास कार्यक्रममार्फत यी घरहरू निर्माण सम्पन्न भएका हुन् ।
१० महिनाको अवधिमा सम्पन्न भएको उक्त निर्माण कार्यका लागि लालझाडी गाउँपालिकाले ३० लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले संयुक्त रूपमा २० लाख ५० हजार तथा स्थानीय समुदायले १५ लाख बराबरको जनश्रमदान गरेको बताइएको छ । कुल ६५ लाख ५० हजार रुपैयाँ लागत खर्चमा ती घरहरू निर्माण भएका हुन् ।
लाभग्राही परिवारहरूलाई एक कार्यक्रमका बिच घर निर्माणको प्रमाणपत्र हस्तान्तरण गरिएको छ । लालझाडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष पहल बहादुर थापाको अध्यक्षमा आयोजित आवास हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा भूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्त रहनु भएको थियो । लालझाडी गाउँपालिका, हयाबिट्याट फर हयुम्यानिटि नेपाल र निड्स नेपालको त्रिपक्षीय सम्झौताबाट १० वटा घरहरू निर्माण सम्पन्न भई हस्तान्तरण गरिएकोमा उनले खुसी ब्यक्त गरे । आगामी दिनहरूमा समेत यस किसिमका कार्यमा सहयोग गर्न उनले आग्रह गरे ।
कञ्चनपुर जिल्लामा भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र आरक्षपीडितहरूको समस्या वर्षौँदेखि समाधानको पर्खाइमा रहेको उल्लेख गर्दै अहिले गठन भएको आयोगले उक्त समस्या समाधान गर्ने गरी कार्य थालनी गरेको उहाँको भनाइ छ । एक लाख १३ हजार ४६७ वटा निवेदन परेको उल्लेख गर्दै निवेदन दिन छुटेका घरधुरीहरूका लागि अन्तिम पटक सूचना जारी गर्नेबारे छलफल भइरहेको उनले बताए ।
लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले स्थानीय तहका जनप्रतिनिधिहरूको सकारात्मक सोचका कारण अतिविपन्न परिवारहरूमध्ये पहिलो चरणमा १० वटा घर निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सफल भइएको उल्लेख गरे । यस कार्यमा सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद ज्ञापन गरे ।
निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले विपन्न परिवारका लागि विकास साझेदार संस्थाहरूसँग समन्वय गरी गाउँपालिकाले घर निर्माण कार्यलाई सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरे । आवासको हक नागरिकको मौलिक हकका रूपमा रहेको उल्लेख गर्दै उहाँले सहकार्यका लागि लालझाडी गाउँपालिका र हयाबिट्याट फर हयुम्यानिटि नेपाल प्रति आभार व्यक्त गरे । उनले अन्य पालिकाहरूमा पनि निड्स नेपालले यस किसिमका कार्यक्रमहरूका लागि सहकार्य गरिरहेको उल्लेख गरे ।
आवास हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्व अध्यक्ष बचन बहादुर सिंह, हयाबिटयाट फर हयुम्यानिटि नेपाल र निड्स नेपालका प्रतिनिधिहरू, प्राविधिक टोली, लालझाडी गाउँपालिका वडा नं। १ का अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतका स्थानीय जनप्रतिनिधिहरू तथा अन्य स्थानीय बासिन्दाहरूको समेत कार्यक्रममा उपस्थिति थियो ।