काठमाडौँ — भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ । भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझमात्रै ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएका हुन् ।कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।
मेला भइरहेको राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्य सरकारका तर्फबाट मृतकका परिवारलाई २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भागदौडमा आफ्ना प्रियजनहरू गुमाउने परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । घटनाबारे छानबिन गर्न न्यायाधीश हर्ष कुमारको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग गठन गरिएको उनले बताए । विपक्षी दलका नेताहरूले भने दुर्घटनाका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन् । सरकारले मेलामा आएका श्रद्धालुहरूको व्यवस्थापन गर्न नसकेकाले दुर्घटना निम्तिएको उनीहरूको दाबी छ । प्रमुख विपक्षी दल कंग्रेस नेता राहुल गान्धीले ‘भीआईपीलाई मात्र ध्यान दिने प्रशासनको व्यवहार र अव्यवस्थाका कारण दुःखद घटना भएको’ दाबी गरेका छन् ।
गत पुस २९ मा सुरु भएको कुम्भमेलामा हालसम्म २० करोडभन्दा बढी श्रद्धालुले स्नान गरिसकेका छन् । ६ साता लामो मेलामा करिब ४० करोड तीर्थयात्रीले स्नान गर्ने अनुमान छ । मेलामा सहभागी धर्मावलम्बीहरूको ताँती अन्तरिक्षबाट देखिने बताइएको छ । कुम्भमेलाको उत्पत्ति महासागर मन्थनका क्रममा उत्पन्न भएको अमृतको कुम्भलाई लिएर देवता र दानवहरूबीचको लडाइँबारेको पौराणिक कथामा आधारित छ । अमृतको भाँडोका विषयमा दुई पक्षहरूबीच भएको लडाइँमा अमृतका केही थोपा भारतका प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा खसेको मान्यता छ ।
चार वटै सहरमा मेला आयोजना गरिने भए पनि सबैभन्दा ठूलो मेला भने प्रयागराजमा आयोजना हुने गरेको छ । १२ खगोलीय वर्षहरूसम्म लडाइँ चलेको हुनाले पृथ्वीमा हरेक १२ वर्षमा कुम्भमेला चार सहरमा मनाइन्छ । ग्रह र ताराहरू पंक्तिबद्ध रूपमा मिलेकाले यस पटकको पर्व विशेष भएको बताइएको छ । १२ कुम्भ पर्व वा १ सय ४४ वर्षपछि यस्तो पूर्णता देखिएकाले यस पटकको मेलालाई ‘महाकुम्भ’ भनिएको हो । निश्चित ग्रह र नक्षत्रहरूका आधारमा यस पटकका लागि ज्योतिषीहरूले नुहाउने मिति र शुभ समय तय गरेका थिए । त्यसका आधारमा स्नानका लागि सोमबारबाहेक अन्य पाँच दिन शुभ रहेको जनाइएको थियो । माघ १ मकर संक्रान्ति, माघ १६ मौनी अमावास्य, माघ २१ बसन्त पञ्चमी, माघ २९ पूर्णिमा र फागुन १४ गते महाशिवरात्रिका दिन राजसी ९शाही० स्नान तोकिएका कारण अन्य दिनभन्दा यी दिन भीड बढी हुने गरेको हो ।
तीर्थयात्री र पर्यटकलाई बस्नका लागि नदीको किनारमा ४ हजार हेक्टर क्षेत्रफलमा फराकिलो टेन्ट सिटी निर्माण गरिएको छ । अधिकारीहरूका अनुसार करिब २ सय सडक चौडा गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मेलास्थल करिब ४ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा १ लाख ६० हजार पालहरू लगाइएको छ । १ लाख ५० हजार शौचालय निर्माण गरिएको छ । मेला आयोजनास्थलमा ६ सय ५० किलोमिटर अस्थायी सडक बनाइएको छ । ५० लाखभन्दा बढी सवारी साधनहरूका लागि ९९ वटा पार्किङ स्थलहरूको व्यवस्था छ । ६७ हजार सडक बत्ती जडान गरिएको छ । पानीका लागि २ सय वटा एटीएम र ८५ वटा ट्युबवेलको व्यवस्था गरिएको छ । त्यस्तै, नदी वारपार गर्नका लागि ३० वटा फ्लोटिङ पोन्टुन पुल बनाइएको छ । मेलाको सुरक्षाका लागि ५० हजार प्रहरी तथा सुरक्षा अधिकारी खटाइएको छ ।
४० हजार रिचार्जेबल बल्बहरू, आर्टिफिसियल सुरक्षा प्रणाली, २७ हजार एआईसीसीटीभी क्यामरा तथा तीर्थयात्रीहरूको सुरक्षाका लागि तीनवटै नदीको संगममा पानीमुनि ड्रोनहरू राखिएका छन् । मेला व्यवस्थापनका लागि १ लाखभन्दा बढी स्वयंसेवकहरू परिचालन गरिएको छ । १५ हजार सफाइ कामदारहरूको व्यवस्था गरिएको छ । भारत सरकारले महोत्सव आयोजना गर्न ७० अर्ब भारतीय रुपैयाँ खर्चको व्यवस्था गरेको जनाइएको छ । मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २ खर्ब ५० अर्ब राजस्व उठाउने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । शिवरात्रीका दिन समापन हुने मेलालाई संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले मानवताको अमूर्त सम्पदाको मान्यता दिएको छ ।
पृथ्वीका करोडौं मानिसहरूको ध्यान खिचेको महाकुम्भले अन्तरिक्षबाट पनि चासो प्राप्त गरेको एनडीटीभीले समाचारमा लेखेको छ । नासाका अन्तरिक्ष यात्री डन पेटिटले उच्च शक्तिशाली क्यामराबाट खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । उत्कृष्ट खगोल फोटोग्राफर पेटिटले रातको समयमा गंगानदीको तीर्थयात्राको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अन्तरिक्ष स्पेस स्टेसनबाट रातको समयमा देखिएको गंगानदीको तीर्थयात्रा, २०२५ को महाकुम्भ मेला । उज्यालोमा झल्किएको विश्वकै सबैभन्दा ठूलो मानव जमघट ।’ भारतमा धार्मिक कार्यक्रम, मेला र सार्वजनिक स्थानमा ठूलो भीड लाग्ने गरेको छ । ती मेला महोत्सवमा बारम्बार हुने भागदौडका घटनामा कैयौंको ज्यान जाने गरेको छ । तीन साताअघि भारतको आन्ध्र प्रदेशस्थित तिरुपति मन्दिरमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको थियो । गत वर्ष उत्तर प्रदेशको हाथरसमा आयोजित एउटा धार्मिक प्रवचनस्थलमा भागदौड मच्चिँदा कम्तीमा १ सय २१ जनाको ज्यान गएको थियो ।
भारतमा सन् २०२१ र २०२२ मा ४७ वटा भागदौडका घटना भएका थिए । तर ती घटनामा ज्यान गुमाउनेको संख्या भने यकिन छैन । सन् २०१३ मा कुम्भमेलामा भएको भागदौडमा ४२ जनाले ज्यान गुमाएका थिए । घटनामा ४५ जना घाइते भएका थिए । ९एजेन्सीहरूको सहयोगमा०