धनगढी: हमासको कब्जामा रहेका कञ्चनपुरका बिपीन जोशी रिहा हुदै गरेको समाचार सार्वजनिक प्रकाशित भएपनि त्यसको आधिकारिता पुष्टि हुन सकेको छैन् । यद्यपि ईजरायली अधिकारीहरुलाई उधृत गर्दै नाम उल्लेख नभएका पाँच जना थाई नागरिक मुक्त हुदै गरेको र आठ जना थाई नागरिकसंगै एक नेपाली र एक ताञ्जानियाका नागरिक हमासको कब्जामा गाजामा रहेको टाईम्स अफ ईजरायलले उल्लेख गरेको छ । तर नाम भने कसैको उल्लेख छैन् ।
रिहा गरिएका र रिहा गर्ने भनिएकाहरुको आधिकारिक सूचीमा अहिलेसम्म हमासको कब्जामा रहेका बिपीन जोशीको नाम भने कहीकतै उल्लेख छैन् । उनका बारेमा भ्रम छर्ने खालका समाचार भने लगातार आईरहेका छन् । कहिल्यै जीवितै रहेको, कहिल्यै सम्पर्कमा नरहेको, कहिल्यै रिहा गर्ने भनिएकाहरुको सूचीमा नरहेको समाचारहरु प्रकाशित हुदै आएका छन् । डिसेम्बर १६ यता बिपीनका बारेमा टाईम्स अफ ईजरायलमा कुनै समाचार प्रकाशित छैन् ।
बिपीन जोशीको नाम रिहा गर्नेहरुको सूचीमा रहेको विषयमा अहिलेसम्म आधिकारिक निकाय परराष्ट्र मन्त्रालय र ईजरायली दूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छैन् । यद्दपि सामाजिक सञ्जालमा उनको नाम रिहा हुनेहरुको सूचीमा ५८ औं नम्वरमा रहेको भन्दै सूची समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । यसको आधिकारिता भने पुष्टि हुन सकेको छैन् ।