धनगढी: कैलाली जिल्लाका सात नाकामा नयाँ प्रहरी इन्चार्ज पठाइएका छन्। सुरक्षालाई थप प्रभावकारी बनाउन विभिन्न चौकीमा नयाँ प्रहरी इन्चार्ज पठाइएका हुन्। जसमा रामपुर चौकीमा असई नरेन्द्र सिंह रैखोला पठाइएका छन्। यसअघि पदम कार्की कुटपिटको घटनामा घाइते भएपछि उपचारका लागि बिदामा छन्। सो घटनामा संलग्न एकजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। त्यस्तै कालाकुन्डा चौकीमा वरिष्ठ सई नरेन्द्र चन्द जिम्मेवारीमा पुगेका छन्, भने कालाकुन्डाबाट वरिष्ठ सई बिसन भट्ट फल्टुडे चौकीमा खटिएका छन्।
यस्तै धनगढी विमानस्थलबाट त्रिनगर नाकाको सुरक्षामा वरिष्ठ सई समुद्र केशर पन्तले आएर जिम्मेवारी सम्हाल्दा यसअघिका त्रिनगर चौकीमा वरिष्ठ सई शैलेन्द्र चन्द आसरा सुधार केन्द्र पुगेका छन्। यस्तै फुलबारी चौकीमा वरिष्ठ सई चङ्ख कठायत, जुगेडा चौकीमा वरिष्ठ सई नेत्र कठायत, हसुलिया चौकीमा वरिष्ठ सई दिग्गज ठकुराठी, र पृथ्वीपुर चौकीमा वरिष्ठ सई जीवन गुरुङ पठाइएका छन्। यस अगाडि फुलबारी चौकीमा रहेका खेमराज पन्त जिल्ला प्रहरी कार्यालयमा पुग्दा जुगेडाका सई राजेन्द्र बम भने धनगढी कारागारको इन्चार्ज बनेका छन्।
त्यस्तै हसुलियाबाट वरिष्ठ सई लोकेन्द्र बहादुर चन्द पनि अहिले जिप्रका पुगेका छन्। यो परिवर्तनसँगै कैलालीका प्रमुख नाकाहरूमा सुरक्षालाई थप मजबुत बनाइने बताइएको छ।