धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले अन्तरङ्ग र बहिरङ्ग सेवा नियमित दिइरहेको छ । २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयबाट यि सेवा नियमित छन् । पछिल्लो समय एक जना बिषेशज्ञ सहित चिकित्सालयले आयुर्वेद सेवा दिइरहेको छ । चिकित्सालयबाट एक वर्षमा २६ हजार ७२२ जनाले ओपिडी सेवा लिएका छन् । जसमध्ये महिला १४ हजार ७२५ र पुरुष ११ हजार ९९७ जना रहेका जनाइएको छ । त्यस्तै, १३ हजार २९७ जनाले पूर्वकर्म/पञ्चकर्म, ७२ जनाले क्षारसूत्र सेवा लिएका अस्पतालका चिकित्सक डा. ओमप्रकाश कलौनीले जानकारी दिए । यसैगरी, चिकित्सालयले १७ हजार ९३३ जनालाई निःशुल्क औषधी वितरण गरेको छ । सात हजार ३९९ ले ज्येष्ठ नागरिक र ९०८ जनाले स्तनपायी सेवा लिएका जनाइएको छ । चालु आर्थिक वर्षको पुससम्म ओपिडी सेवा आठ हजार ४२१, पञ्चकर्म आठ हजार ७८३, ज्येष्ठ नागरिक दुई हजार ८६३ र मातृशिशु सेवा ३६९ जनाले लिएको जनाइएको छ ।
प्रदेशको नागरिकलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ २०७९ बाट यो चिकित्सालय सञ्चालनमा आएको थियो । यद्यपि, चिकित्सालयले अझै पनि अपेक्षाकृत रूपमा सेवाग्राही पाउन नसकेको अस्पतालका सूचना अधिकारी सुरेन्द्र शाहीले बताए ।
चिकित्सालयले सेवा नियमति दिइरहेपनि जनशक्तिको अभावमा पुर्ण सेवा दिन सकिरहेको छैन । प्रदेशको एक मात्र चिकित्सालयमा २७ जनाको मात्रै दरबन्दी छ । चिकित्सालयले दुई बर्षमै करिब ८२ हजार बिरामीलाई उपचार सेवा दिएको छ । तर चिकित्सालय विशेषज्ञ चिकित्सक नहुँदा भौतिक पूर्वाधार हुँदाहुँदै सबै विभागहरूलाई पूर्ण रूपमा सञ्चालन गर्न सकिएको छैन । २०७९ असोजबाट सेवा सुरु गरेको चिकित्सालयमा विज्ञ चिकित्सक नहुँदा उपचार सेवा विस्तार गर्न समस्या भएको छ । “हामीसँग पर्याप्त भौतिक संरचना छ, चिकित्सालयमा २७ जनाको दरबन्दी छ, विज्ञ चिकित्सकको अभावमा अस्पतालको सेवा प्रभावित भएको छ,“ चिकित्सालयउका मेसु राम कामेश्वर ठाकुरले भने।
चिकित्सालयमा जनरल ओपिडी, बालरोग ओपिडी, जनरल मेडिसिन, स्त्री तथा प्रसूति ओपिडी सञ्चालनमा छन् । चिकित्सालयमा ओपिडी र इन्डोर सेवा समेत सञ्चालन गरिएको छ । बिरामीहरूलाई पूर्वकर्म, पञ्चकर्म, गुदगद रोगको शल्यक्रिया सेवा, होमियोपेथी योग तथा परामर्श सेवा सञ्चालनमा रहेको मेसु ठाकुरले बताए ।
प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा पायल्स, फिसर फिस्टुलाको प्रभावकारी उपचार हुने गरेको छ । यो वर्ष साउनयता मात्रै ६२ जनाको सफल शल्यक्रिया गरिएको छ ।