धनगढी । अछाममा गोठालो गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले मृतक किशोरसँग गोठालो गएका दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।२० वर्षमुनिका उनीहरू परिचय भने खुलाइएको छैन् ।
शनिबार घरबाट बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा दुवै जना मृत अवस्थामा फेला परेका थिए । टाउको र शरीरमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनीहरूको शव परीक्षणका लागि भेरी प्रादेशिक अस्पताल लगिएको प्रहरीले छ । प्रहरीले तालिमप्राप्त कुकुरको प्रयोग गरेर पनि अनुसन्धान गरेको थियो ।
मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिरो अनुसन्धान हुनुपर्ने माग गरेका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको शव भेटिएको माथिपट्टी भिर रहेको र उनीहरूको शव भन्दा तल माथिबाट ठूलो ढुङ्गा खसेको देखिएको जनाएको छ ।
ढुंगा खसेर चोटपटक लागेको जस्तो देखिएपनि शव परीक्षण रिपोर्टबाट धेरै तथ्यहरू खुल्ने आशा प्रहरीले गरेको छ ।