दार्चुला:महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा सुख्खा पहिरो खसेपछि तीन दिनदेखि महाकाली लोकमार्ग अवरुद्ध रहेको छ । सदरमुकामनजिकै रहेको लोकमार्ग बन्द भएपछि स्थानीय नागरिकलाई आवतजावतमा समस्या भएको छ । शुक्रबार बिहानै सडक चोडा पार्ने क्रममा सुख्खा पहिरो खस्दा कटिङ गरिरहेको मेसिन पहिरोमा परेपछि सडक अवरुद्ध हुन पुगेको हो । जिल्ला सदरमुकाम जोड्ने मुख्य मार्ग अवरुद्ध भएपछि खुलाउन भने चासो नदिएको स्थानीयको गुनासो रहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका यात्रु तथा मालवाहक सवारी अलपत्र रहेका छन् ।
सबै यात्रु, बिरामी एवं स्कुले बालबालिकालाई आवतजावतमा समस्या भएको छ । सडक मार्ग अवरुद्ध भएपछि काम बिशेषले सदरमुकाम आउजाउ गर्ने नागरिकले अप्ठ्यारो बाटोबाट पैदल हिँड्नुपर्ने अवस्था सृजना भएको स्थानीय महेश भट्टले बताए ।
पैदल बाटो हिँड्न विद्यार्थी, वृद्धवृद्धा तथा बिरामीलाई साह्रै अप्ठ्यारो भएको छ । ‘सदरमुकाम विद्यालयमा पढ्ने बच्चाहरूलाई पिँठ्युमा बोक्नु परेको छ,’ भट्टले भने, ‘सरोकारवाला निकायलाई नागरिकको समस्या बोध नभएको जस्तो लाग्छ ।’