धनगढी । कञ्चनपुरमा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताले दुर्व्यवहार गरेको सचिवालयले भर्त्सना गरेको छ । एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका रावललाई शनिबार पूर्वपश्चिम राजमार्ग अन्तरगत दैजी चोकमा उनी सवार गाडी रोकेर तोडफोड गर्ने प्रयास गर्दै दुर्व्यवहार गरेको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रावलका स्वकीय सचिव राजबहादुर चन्दले विज्ञप्ति जारी गर्दै रास्वपाका कार्यकर्ताहरुले रावल सवार गाडीलाई रोकेर चालकलाई गालीगलौज र हातपातको प्रयास गर्दै गाडीमाथि तोडफोडको प्रयास गरेको जनाएका छन् ।उनले उक्त घटनाले कानुनी राजको खिल्ली उडाएको उल्लेख गर्दै घटनाका बेला नेपाल प्रहरी मुकदर्शक बन्दै अराजक समूहअघि निरिहता देखाएको भन्दै आपत्ती जनाएका छन् । अहिले स्वयंम दुर्व्यवहार गर्ने समूहले नै सामाजिक सञ्जालमा चरित्र हत्या हुने ढंगले भिडिओको केहीँ अंश राखेर घटनालाई अतिरञ्जित गर्दै व्यक्तिगत र सामाजिक जीवनमा आँच पुगाउने काम गरेको भन्दै भत्सर्ना गरिएको छ ।
रावलको सचिवालयले उक्त कार्यमा संलग्नलाई कारवाही गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पूर्वपश्चिम राजमार्गको दैजीमा सरकारी नम्बर प्लेटका सवारीसाधनमाथि निगरानी गर्ने कार्यक्रम गरेको जनाएको छ । शनिबार चलाइने सवाीसाधनले प्रशासनको अनुमती लिएरनलिएको हेर्ने क्रममा पूर्वमुख्यममन्त्री रावलको गाडी रोकेको र सोही क्रममा विवाद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।
उनले रावलसँग विवाद गर्ने रास्वपाका कार्यकर्ता केशव पन्तलाई नियन्त्रण लिएको बताए । तर सामान्य सोधपुछपछि पन्तलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।