बैतडी: सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातका लागि जिप चलाउँदै आउनुभएका बैतडीकी २० वर्षीय रविना चन्द (रुबी) लाई सम्मान गरिएको छ । पञ्चेश्वर गाउँपालिका–४, बैतडीका रुबीलाई बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी र उपप्रमुख नीलम लेखक जोशीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँलार्ई कञ्चनपुरस्थित नेपाल यातायात मजदुर सङ्घले पनि सम्मान गरेको छ ।
रुबीले चलाउँदै आएको म। १ ज ३३३ नम्बरको सार्वजनिक बोलेरो पछिल्लो समय पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका हुँदै प्रदेश राजधानी कैलालीको धनगढीसम्म यात्रु बोकेर हिँड्ने गरेको छ । महिलाले जिप हाँकेको देख्दा सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत सवारीचालक अनुमतिपत्र हेरेपछि मात्रै पत्याउने गरेका थिए ।