धनगढी । गैरसरकारी संस्था महासंघले असमानताविरुद्ध धनगढीमा खबरदारी र्याली निकालेको छ । असमानताका विरुद्ध रातो घेरा कोरौँ भन्ने नाराका साथ विश्वव्यापी परिचालन दिन गैरसरकारी संस्था महासंघले धनगढीको चौराह देखि पार्क मोड सम्म र्याली निकालेको हो ।
बिहान साडे ९ बजे सुरु भएको र्यालीले नगर क्षेत्रमा परिक्रमा गरी कोणसभामा परिणतभएको थियो। गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेश धनगढीको आयोजनामा भएको र्याली पार्कमोडमा पुगेर समापन भएको थियो । र्यालीमा गैसस महासंघमा आबद्ध संस्थाको उपस्थिति रहेको प्रदेश अध्यक्ष देवी प्रसाद खनालले जानकारी दिए । र्यालीमा सहभागीले विश्वमा मानिसबीचको असमानता बढ्दो क्रममा रहेको र त्यसको व्यवस्थापनका लागि प्राकृतिक स्रोतसाधनमाथिको पहुँच वृद्धि गर्नुपर्ने बताएका थिए।
कोणसभालाई सम्बोधन गर्दै महासंघका केन्द्रिय सचिव भवराज रेग्मीले विश्वका केहि प्रतिशत मानिसले मात्र विश्वको प्राकृतिक सम्पत्तिमा पहुँच भएको भन्दै बाँकी अन्य ले पनि प्राकृतिक सम्पदाको पहुँच बढाउन खबरदारी गरिएको बताए। उनले स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ५४ औँ सम्मेलनलाई एजेण्डा तय गर्नेगरी नेपालमा खबरदारी सभा आयोजना गरिएको बताए । त्यस्तै सभामा बोल्ने वक्ताहरुले प्राकृतिक स्रोतमा सबैको समान पहुँचको माग गरेका छन्। सभालाई गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य सावित्री घिमरे, निल हिरा समाज ब्लु डाईमण्ड सोसाईटी बाट राज चौधरी र फाया नेपाल बाट गोमा आर्चायले मनतब्य राखेका थिए ।
अहिले स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको सम्मेलन जारी छ। यो सम्मेलनले साना र पहुँचको हिसाबले पछि परेका राष्ट्र र नागरिकको आवश्यकताका आवाजलाई समेट्न खबरदारी सभा प्रभावकारी हुने अपेक्षा महासंघको छ।