धनगढी । कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ फाइनलमा प्रवेश गरेको छ । सुपर फोरका दुबै खेलमा जित निकाल्दै एपीएफ उपाधि नजिक पुगेको हो । बिहीबार बागमती प्रदेशलाई पराजित गरेको उसले शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गरेको छ ।
धनगढीको फाप्ला मैदानमा ११६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित १७ ओभरमा सबै विकेट गुमाउँदै ४६ रन मात्रै बनाउनसक्यो । उसका लागि राधिका पुजाराले १७ तथा कप्तान लक्ष्मी साउँदले १० रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका रेखा रावलले ४ विकेट लिइन् । सवनम राईले २ तथा कप्तान इन्दु बर्माले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले खराब मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि राजमती ऐरली ३५ रन बनाइन् । कविता जोशीले ३४ र कप्तान इन्दु बर्मा १८ रनमा अविजित रहे । आर्मीका सुस्मिता भुषालले २ तथा इश्वरी बिष्टले १ विकेट लिए ।
फाइनल पुग्ने अर्को टोलीको टुंगो भने आजै हुने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेलबाट लाग्ने छ । शनिबार फाप्ला मैदानमै फाइनल खेल हुने छ ।