धनगढी: प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुपरफोर खेलमा विभागीय टोली एपिएफले बागमती प्रदेशविरुद्ध शानदार जित निकालेको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले बागमतीमाथि १० विकेटको रवाफिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित १८ ओभरमा आठ विकेटको नोक्सानमा ४२ रनमात्रै जोड्न सक्यो । एफिएफको कसिलो बलिङसामु बागमतीका खेलाडी टिक्न सकेनन् । यशु पाण्डेय, सविका यादव र एलि यादवले सामान आठ-आठ रनको योगदान गरिन् ।
बागमतीलाई रोक्ने क्रममा एपिएफका तर्फबाट सुमन विष्टले सर्वाधिक तीन विकेट लिई प्लेयर अफ द म्याच घोषित भइन् । रेखा रावल र बिनु बुढाले सामान दुई-दुई विकेट लिइन् । झिनो लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको एपिएफले ६.५ ओभरमै लक्ष्य भेट्टायो । एपिएफको जितमा ममता चौधरीले २३ र राजमती ऐरीले १४ रनको योगदान दिइन् ।