धनगढी : सात वर्षसम्म स्थायी राजधानी निर्माणको टुंगो नलागेको सुदूरपश्चिममा सभामुख भीमबहादुर भण्डारीले प्रदेशको स्थायी राजधानी निर्माणको प्रक्रिया सुरु गर्न नसक्ने अवस्था भए अब नयाँ ढंगले जानुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभा स्थापना दिवसका अवसरमा सोमबार प्रदेशसभामा आयोजित कार्यक्रममा बोल्दै सभामुख भण्डारीले उक्त कुरा बताएका हुन् ।
‘यो वर्ष पनि प्रदेश राजधानीको विषय टुंगो लगाउन सकिएन भने अब नयाँ ढंगले सोच्नु पर्दछ,’ सभामुख भण्डारीले भने ‘हामी हाम्रो छत नै बनाउन नसक्ने हैसियतमा बसिराख्ने हो भने हाम्रो उपादेयतामा हामी आफैंभित्रबाट प्रश्न खडा हुनेछ ।’
प्रदेशसभाले ६ वर्षअघि नै स्थायी राजधानी कैलालीको गोदावरी घोषणा गरेको भए पनि संघीय सरकारबाट जग्गाको भोगाधिकार पाउन नसक्दा राजधानी निर्माणको काम अन्योलमा छ । उनले सरकारले प्रदेश सभालाई महत्त्व नदिएको गुनासो पनि गरे । ‘पहिलो कार्यकालको जसरी प्रदेशसभा सञ्चालन हुन नसकेको कुरा हामी सबैले स्वीकार गर्नु पर्दछ,’ उनले भने ‘हिजो जसरी कानुन बनाउनुपर्ने थियो, ५६ देखि ६५ कानुन प्रदेश सभाले हिजो बनाएको थियो । अहिले त्यो अवस्था छैन ।’
सभामुख भण्डारीले विगतमा सुदूरपश्चिमभन्दा पछाडि रहेका प्रदेशहरू द्रुत गतिमा विकास गरिरहेको भए पनि हामी घोषणा गरेकै काम पनि पूरा गर्न नसकिरहेको उनको भनाइ थियो ।