धनगढी: सुदुरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवाले आयुर्वेदको ज्ञान हरेक वडा र टोलमा पुग्न जरुरी रहेको बताएका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी राजपुरद्वारा आयोजित जनप्रतिनिधिहरूका लागि आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण तालिमको उद्घाटन गर्दै देउवाले अब हरेक वडामा आयुर्वेद सम्बन्धी शिक्षा पुग्नुपर्ने बताएका हुन् । आयुर्वेदिक उपचार पद्धती सस्तो र गुणस्तरिय छ देउवाले भने “हामीले सुदुरपश्चिममा धेरै सेवा दिन नसकेपनि केही बिषेशज्ञ सहितका सेवाहरु यही प्रादेशिक अस्पतालबाट दिइरहेका छौँ, तर अँझै आयुर्वेद उपचार पद्धतीको प्रचार प्रसार नहुँदा सबै नागरिक यसको पहुँचमा पुग्न सकिरहेका छैनन् ।”
एलोपेथिक उपचार भन्दा सस्तो अनी कुनै साइड इफेक्ट नगर्ने सहज उपचार पद्धती छ देउवाले भने “यहाँ हामीले लगानी बढाउनुपर्ने त छदैछ, अर्को तर्फ हाम्रा नागरिकलाई आयुर्वेदिक उपचार र यसको गुणस्तर बारेपनि ज्ञान दिन जरुरी छ, त्यस कारण यहाँ हुने उपचार बारे चिकित्सालय सगैं जनप्रतिनिधी र यस बारे जानकारी भएका नागरिकले अन्य समुदायमापनि प्रचार प्रसार गर्नुपर्छ ।” देउवाले प्रदेश सरकारबाट सकिने सहयोग बिगनमा गरेको जानकारी दिदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला कुमारी रानाले बिस्तारै चिकित्सालयको बिकास भइरहेको बताइन् । काम गरेर मात्रै पुग्दैन काम सगैं प्रचार प्रसारपनि महत्वपुर्ण छ उनले भनिन् “यस चिकित्सालयले बिभिन्न माध्यमबाट प्रचार प्रसारमा जोड दिनुपर्छ, नागरिक यहाँको सेवा र उपचार पद्धतीबारे जानकारी पाए सहजै उपचारका लागी आउनुहुन्छ ।” कार्यक्रममा चिकित्सालयका मेडिकल सुपरिटेन्डेन्ट डा.राम कामेश्वर ठाकुरले चिकित्सालयमा आवश्यक बिषेशज्ञ चिकित्सक, अन्य जनशक्ती, स्वास्थ्य उपकरण लगायत अभाव रहेको जानकारी गराएका थिए । यस चिकित्सालयलाई बिकास गर्न सके सुदुरपश्चिमको जडिबुटीले समेत स्वदेशमै बजार पाउने उनको भनाई थियो ।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीका ब्यबस्थापन समितिका अध्यक्ष नरेश बहादुर बिष्टको अध्यक्षता आयोजित अभिमुखीकरण तालिममा धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरुको सहभागिता थियो । जनप्रतिनिधीहरुलाई चिकित्सकहरुले आयुर्वेद उपचार पद्धती र यसका फाइदाहरु बारे जानकारी गराएका थिए ।