धनगढी – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको छ । बाग्मतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३ ओभर २ बलमा ६७ रनमा अलआउट भयो । आर्मीकी अञ्जली विश्वकर्माले १४, नगिमा तामाङले १३ रन बनाइन् । बाग्मतीकी सोनु खड्का, मनिषा उपाध्याय र कञ्चन श्रेष्ठले २र२ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो । बाग्मतीकी यशु पाण्डेले २५, कञ्चन श्रेष्ठले नटआउट २४ र यशोदा विष्टले नटआउट २० रन बनाए । आर्मीकी ईश्वरी विष्ट र लक्ष्मी साउदले १/१ विकेट लिए । यो जीतसँगै बाग्मती २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अङ्कसहित नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यस्तै समूह ‘बी’ को अर्को खेलमा अहिले दोस्रो स्थानको कोशी प्रदेश र पुछारको मधेश प्रदेश खेलिरहेका छन् ।
प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।