बुटवल — सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ ।
प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झन्डै दर्जन तथ्य र प्रमाणसहित लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो । यसअघि गत वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यतिबेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनीविरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।