काठमाडौं । संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरुको डिभाइसमा टिकटक खुल्न छोडेको हो । अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी कंग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिवन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।
टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो– व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो । अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत प्रतिवन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरुले टिकटक प्रतिवन्धबारे विभिन्न उपायहरु अघि सारे ।
त्यसपछि एउटा कानून पारित भएर टिकटकलाई विक्री गर्न वा प्रतिबन्ध खेप्न वाध्य हुने अवस्थामा पुर्याएको हो । तर, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिवन्धलाई केही समय धकेल्ने संकेत गरेका छन् । हिजो एक अन्तरवार्तामा उनले आफू पदासिन भएपछि टिकटकलाई तीन महिना समय दिनसक्ने बताए । ट्रम्पले सोमबार राष्ट्रपतिको दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दै छन् । त्यसलगत्तै उनले टिकटकबारे नयाँ घोषणा गर्ने दावी गरिएको छ । कानूनतः उनीसँग विक्रीका लागि तीन महिना थप समय दिने अधिकार छ ।
ट्रम्पको अभिव्यक्तिले टिकटक आशावादी बनेको छ । उसले एउटा वक्तत्वमार्फत ट्रम्पलाई धन्यवाद दिएको छ । ‘अमेरिकामा टिकटक प्रतिवन्ध गर्ने कानून कार्यान्वयनमा आएको छ । दुर्भाग्यवस, तपाईंले अब टिकटक प्रयोग गर्न पाउनुहुन्न । तर, हामी भाग्यमानी यस अर्थमा छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहणपछि यसको निकास खोज्नका लागि हामीसँग काम गर्ने बताएका छन्,’ बाइट डान्सले भनेको छ ।
टिकटक एटर्नीले अमेरिकी सुप्रिम कोर्टलाई १९ जनवरीदेखि टिकटक ‘अँध्यारो हुने’ बताएका छन् । टिकटक एप स्टोरहरुबाट गायब भएसँगै यो डाउनलोड र अपडेटका लागि उपलब्ध छैन । अब यो विस्तारै खुल्न छोड्ने छ ।
टिकटकले प्रतिवन्धको कानूनलाई अमेरिकी अदालतमा चुनौति दिएको थियो । प्रतिवन्धको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको भन्दै दायर गरेको रिट अदालतले खारेज गरिदिएपछि सरकारलाई बाटो खुलेको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।