धनगढी: कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित निकालेको छ । आज विहान खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हराएको हो । एपिएफको जितमा कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बलमा १० चौकाको मद्दतले ५८ रन बनाइन् ।
उनि प्लेयर अफ द म्याच घोषित भइन् । त्यस्तै, ममता चौधरीले नटआउट ३६ रनको योगदान दिइन । कविता जोशीले अविजित १३ रन बनाइन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभर खेल्दै दुई विकेटको नोक्सानमा १२६ रन बनाएको थियो । बलिङ गर्दै सुदूरपश्चिमका जानकी थापाले मात्रै एक विकेटको सफलता हात पारेकि थिइन् । सुदूरपश्चिमका ऋतु कनौजिया, कविता कुँवर लगायतका पाँच जना बलर विकेट लिन सकिनन् ।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले निर्धारित १८ ओभर खेल्दै ६ विकेटको नोक्सानमा ६७ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कबिता कुँवरले २९ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकिनन् । सुदूरपश्चिमको जित यात्रालाई रोक्ने क्रममा एपिएफका कप्तान इन्दु बर्मा र कविता जोशीले दुई–दुई बिकेट लिइन् । त्यस्तै, सबनम राईले एक विकेट लिइन्।