अछाम : ‘जसले हरियो पात देखायो उइ माइती’ यो टुक्का सुदूरपश्चिममा चर्चित छ । छोरीचेलीका लागि माघ महिना लागेसँगै यसले माइती सम्झाउने गर्छ । हरियो पातमा बाबर ( सेलरोटी), पुरी राखेर छोरी बहिनीको घरमा पुर्याउन जाने र टाढा भएकाहरूलाई माइतीमा बोलाएर खानेकुराका विशेष परिकार बनाएर खुवाउने चलन सुदूरपश्चिममा छ । छोरीबहिनी भएको ठाउँमा नै जब माइती हरियो (साल , केरा)को पातमा खानेकुरा राखेर दैलोमा आइपुगेपछि छोरी बहिनीले माइतीको माया र महत्वको महसुस गर्छिन् ।
वर्षको एकपटक अनिवार्य रूपमा छोरीचेलीलाई दिइने कोसेली हरियो पात अर्थात् त्यसमा पनि सालको पात र केराको पातमा बेरेर दिने प्रचलन छ । हरियो पात पूर्णताको प्रतीक भएकाले माघ महिनामा हरियो पात देखाउने प्रचलन परम्परादेखि चलिआएको हो । यसरी छोरीचेलीको घरमा माइती पुगेर खानेकुरा दिने प्रचलन रहेकाले माघ महिनालाई माघी त्यार भन्ने चलन छ । माघमा छोरीचेली माइती घरमा आउने गर्दछन् । माइती घरमै उपस्थित हुन सक्ने छोरी चेली तिहार खाएरै जाने गर्छन् भने माइती घरमा उपस्थित हुन नसक्ने छोरीचेलीको घरमै गएर माइतीले माघ महिनाभर अनिवार्य रूपमा तिहार पुर्याउनुपर्ने चलन छ । माघ महिनाभर यहाँका गाउँगाउँमा छोरी चेलीलाई तिहार पुर्याउन आउने जानेको उपस्थिति बाक्लो देखिने गर्दछ । चेली तिहारको अर्को महत्त्वपूर्ण प्रचलन भनेको माघमा छोरीचेलीलाई हरियो पात देखाउनु हो ।
ढकारी गाउँपालिका –१ नन्दिपुरकी ६१ वर्षीय धौली बुढा बिहान ६ बजे गाउँमा रहेको एक मात्र कोलमा तेल पेल्न आइन् । कोलमा तेल पेलेर सोही तेलमा सेलरोटी पकाएर उनले ३ गाउँमा रहेका आफ्ना नन्दहरूलाई पोको ( हरियो पातमा बेरिएको सेलरोटी, पुरी) दिनु छ । माघ महिनाको अन्तिम दिनसम्म दिन मिल्ने पोकोका लागि उनले पूर्वतयारी गरिरहेकी छन् । अरु बेलाभन्दा माघ महिनामा तेल पेल्ने घुइँचो हुन्छ कोलमा । दिनभर ५ लिटर तेल पेल्नका लागि उनले एकहप्ता अगाडि नै समय निकालेकी थिइन् । ‘गाउँनजिकै पानी मिल भए तापनि तोरी पेल्नका लागि परम्परागत रूपमा प्रयोग गर्दै आएको ठूलो जाँतोजस्तो यन्त्रमै उनी तेल पेल्न आएकी हुन् । ‘अहिलेसम्म मिलमा पेलेको र बजारबाट ल्याएको तेल मेरो घरमा प्रयोग भएको छैन । यसरी पेलिएको तेलमा सेलपुरी पकाउँदा बास्ना नै फरक आउँछ,’ उनले भनिन् , ‘गाउँमा मिल आए भन्दैमा कोल बन्द गर्न त भएन नि ।’
धौली जस्तै नन्दिपुरका ५० घर र हिच्मा, ढकारी , ढुंगाचाल्ना , घोडासैनबाट समेत यो कोलमा माघ महिनामा तेल पेल्न आउनेको भीडभाड हुन्छ । अन्य ठाउँमा मिल सञ्चालनमा आएपछि बन्द भएका पुराना प्रविधि यो ठाउँमा झन् संरक्षण भएको स्थानीयको बुझाइ छ । अहिले यो गाउँभरको एउटै कोल हो । ‘सुत्केरी आमा र बच्चाका लागि कोलमा पेलेको तेल औषधि जस्तै हो । यसमा न कुनै मिसावटको डर हुन्छ । न पैसा नै खर्च हुन्छ,’ स्थानीय रत्नादेवी बुढाले भनिन् ,‘नन्द सुत्केरी पनि भएकी छन् । यही मौकामा उनलाई माघी त्यार पनि कोलमा पेलेको तेल हुने भयो ।’ उनका अनुसार यो महिना छोरी र नन्दको घरघर गएरै सकिन्छ । माइतीले सधैं छोरीलाई सम्झन सक्दैनन् । सबैका आ-आफ्ना बाध्यता हुन्छन् । माघमा अनिवार्य पुग्नैपर्ने भएकाले भेटघाट गर्ने ठूलो अवसर पनि हो ।’ सहोदर छोरीबाहेक अन्य गाउँका चेलफलाई पनि हरियो पातमा बेरेर त्यार ९कोसेली० दिने परम्परा भएको उनले बताइन् ।
देउडाको रौनक
माघमा छोरीका दुःख बेदना समेटेर देउडा खेल्ने चलनसमेत अछाममा रहेको छ । जसलाई जेठानी-देउरानी जमघट भएर रमाइलो गर्ने माध्यमका रूपमा पनि हेरिन्छ । ‘सधैं चुलो चौकाको काम हुन्छ । आफ्नै जेठानी देउरानीसँग भलाकुसारी गर्ने फुर्सदसमेत हुँदैन । रमाइलो गर्ने, दुःख सुःख साटासाटा गर्ने महिना माघ नै हो ।’ ढकारीकी मैना साउदले भनिन् ,‘यसले झन् आत्मीयता बढाउँछ ।’ महिलाहरू समूह बनाई देउडा खेल्छन् । यसले समुदायमा एकता, मित्रता, आपसी सहयोग, सद्भाव आदानप्रदान गर्ने कार्यमा सहयोगी भूमिका खेल्छ । कसैसँग रिसइबी छ भने एकापसमा मेलमिलाप गरिन्छ । त्यसैले माघीलाई सम्बन्ध प्रगाढ बनाउने दिनका रूपमा पनि लिइन्छ ।कान्तिपुरबाट