धनगढी: कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो । गहुँ, मसुरो, आलु, तरकारी जोगाउन लागि उनीहरु खेतमै बास बस्नुका साथै रातभरि गस्ती गर्नुपर्ने बाध्यता छ । छाडा चौपायाले किसानलाई ठुलो समस्यामा पारेको कैलारी गाउँपालिका–३ भर्रीका किसान मक्कुराम चौधरीले बताए । “हामी सीमा क्षेत्रका किसान छाडा चौपायाबाट धेरै पीडित छौं” उनले भने, “हाम्रै यहाँ रहेका र भारततिरबाट पनि आएर छाडा चौपायाले खेतीपातीमा नोक्सान गरिहेका छन् ।”
कृषक चौधरीकाअनुसार गहुँ, मसुरो जोगाउन किसान खेतमै बास बस्ने गरेका छन् । आ–आफ्ना खेतमा स–साना झुपडी बनाएर राति त्यतै बास बस्ने र गस्ती गर्ने गरेका उहाँको भनाइ छ । “खेतमा जाग्राम बसेर गस्ती गरिएन भने सखाप पार्छन्” कृषक चौधरीले भने ।