बझाङ: मष्टा गाउँपालिकाको प्रशाशकीय भवन बनाउन एकै व्यक्तिले १५ रोपनी जग्गा दान गरेका छन् । वडा नं. ४ का नवराज जोशीले करिब ६५ लाख मूल्य बराबरको उक्त जग्गा गाउँपालिकालाई निस्शुल्क दान गरेका हुन् । गाउँपालिकालाई निस्शुल्क जग्गादान गर्ने जोशीलाई गाउँपालिकाले सम्मान गरेको छ । पालिकाको हिउँदे गाउँसभामा उनलाई दोसल्ला ओडाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो । जग्गा अभावका कारण लामो समयदेखि प्रशाशकीय भवनको अभाव खेपिरहेको गाउँपालिकाले जग्गा प्राप्त गरेपछि भवन निर्माण प्रक्रिया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।
‘भवनको लागि बजेट आएको भए पनि जग्गा नहुँदा बनाउन सकिएको थिएन । स्थापनाकाल देखि नै भवन अभावका कारण सेवाप्रवाहमा समस्या भइरहेको थियो, जग्गादाता जोशीलाई सम्मान गर्दै पालिका अध्यक्ष बोहराले भने, ‘अब निर्माणको प्रक्रिया अघि बढेको छ । पालिकाको लागि जग्गा दिएर उहाँले ठूलो गुन लगाउनु भएको छ। उनले प्राप्त जग्गामा छिट्टै भवनको काम अघि बढने र सेवा प्रवाहमा सहजता हुने बताए । बझाङका पूर्व जिल्ला पञ्चायत सभापति समेत रहेका जग्गादाता जोशी आफूले दिएको जग्गामा बन्ने पालिकाको केन्द्रले गाउँपालिकालाई नै नमुना बनाउन काम गर्नूपर्ने बताए ।
‘यो पालिका नमुना बनाउन सहयोग पुगोस् भनेर मैले जग्गा दान गरेको हुँ । यहाँ बन्ने भवनबाट सबै जनताले सरल र सहज तरिकाले सेवा पाउन सकुन् भन्ने मेरो चाहाना हो, उनले भने, ‘मैले दिएको जग्गामा बन्ने भवनबाट गलत काम भयो भन्ने सुन्न नपरोस् । उनले पालिकालाई सुशाशनको क्षेत्रमा पनि नमुना बनाउनका लागि जनप्रतिनिधि र कर्मचारीहरुले भुमिका खेल्नुपर्ने बताए ।