धनगढी: सुदूरपश्चिम प्रदेशमा बिहीबार बिहानैदेखि वर्षा भइरहेको छ । पश्चिम न्यूनचापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीको संयुक्त प्रभावका कारण वर्षा भइरहेको जलवायुविद् डा। धरमराज उप्रेतीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको र सो वर्षा बिहीबार साँझसम्म कायम रहने उप्रेतीले बताए । शुक्रबारदेखि नेपालको पूर्वी भाग गण्डकी, लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उनको भनाइ छ ।
वर्षाका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात सम्भावना छ । वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरे।
लामो समयपछि हिउँदे वर्षा हुँदा किसानलाई राहत भएको छ । गहुँ खेतीलाई आवश्यक परेको समयमा वर्षा भएकाले गहुँ उत्पादन वृद्धि हुने किसान सुरेश रावलले बताए । सुदूरपश्चिमका अधिकांश भूभागमा आकाशे पानीको भरोसामा खेती गरिन्छ ।