धनगढी । कैलालीको धनगढीमा सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । गण्डकीले दिएको ५६ रनको विजयी लक्ष्य सुदूरपश्चिम प्रदेशले ९।५ मा ३ विकेटको क्षतिमा भेट्टाएको हो ।
सुदूरपश्चिमकी रेवती धामी २१ रनमा अविजित रहिन् । यस्तै, शोभा रोकाया ४ रनमा अविजित रहँदा मनिषा बोहराले ९, कविता कुँवरले ८ र कप्तान विन्दु रावलले ६ रनको योगदान दिए ।
गण्डकी प्रदेशकी अपेक्षा बुढाथोकी र आकृति तिवारीले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले पहिले ब्याटिङको निम्तो पाएको गण्डकीले १५ ओभरमा ७ विकेट गुमाएर ५५ रनको योगफल तयार पारेको थियो । शीतलहर र हुस्सुका कारण २० ओभरको खेललाई १५ ओभरमा झारिएको थियो ।
गण्डकीका लागि रेखा तामाङले १३ र कप्तान सिर्जना पौडेलले १० रनको योगदान दिए । यसैगरी, निरुता जीटीले ७ रन जोड्दा श्रीया शाहीले ३ र सलिना सेनले २ रन जोड्दा धन क्षेत्री र अपेक्षा बुढाथोकी समान १ रनमा अविजित रहे ।
सुदूरपश्चिमका लागि रेवती धामीले सर्वाधिक ४ विकेट लिइन् । यस्तै, जानकी थापा र ऋतु कनौजियाले समान १९१ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको सुदूरपश्चिम प्रदेशले २ अंक जोडेको छ ।