धनगढी — विकास सूचकांकमा सबैभन्दा पुछारमा रहेको बाजुराको पूर्वोत्तर क्षेत्रको कोल्टीमा पहिलो पटक बस पुगेको छ । शनिबार बिहान बस पुग्ने भएपछि कोल्टी बजारका बासिन्दा अबिर र माला लिएर घर अघिल्तिर उभिएका थिए । बिहान घामको झुल्कोसँगै कोल्टी चौरमा तीन वटा बस पुगे । कर्णालीसँग जोडिएको बाजुराको विकट कोल्टी क्षेत्रका बासिन्दा यातायात सेवा सञ्चालनका लागि वर्षौंदेखि प्रतिक्षारत थिए ।
पहिलो पटक शनिबार कोल्टी चौरमा झुल्किएका तीनै बस स्थानीय बासिन्दाका लागि विशेष अतिथि सरह थिए । अझ त्योभन्दा पनि माथि । तत्कालीन समयमा पालवंशी, सिंजा र बझांगी राज्यको प्रशासनिक इकाइ रहेको कोल्टी चौरमा अहिले पनि विभिन्न सांस्कृतिक मेला र पर्व आयोजना गर्ने परम्परा छ । त्यही ठाउँमा शनिबार पहिलो पटक बस पुगेको खुसीमा स्थानीय जनप्रतिनिधि र कोल्टी क्षेत्रका अगुवाले स्थानीयले पञ्चैबाजासाथ ध्वजापताकाले सजाएका तीन वटा बसको एकसाथ स्वागत गरे ।
यहाँ बस चल्न थालेपछि बाजुराको पूर्वोत्तर कोल्टी क्षेत्रका चार स्थानीय तहबाहेक कर्णालीका १३ पालिकाका बासिन्दा लाभान्वित हुन्छन् । ‘कोल्टीमा पहिलो पटक बस पुग्दाको खुसीमा ८५ वर्षका बीरबहादुर शाहीलगायतका बृद्धबृद्धा थालमा अबिर लिएर स्वागतका लागि पर्खिबसेको देख्दा हर्षविभोर भयौं,’ बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले भने, ‘जमाना कहाँसम्म पुगिसक्यो तर हाम्रा लागि भने बस पुग्नु नै सबथोक जस्तो भयो ।’
पहिलो पटक महाकाली यातायातका ना७ख ५८७३ र ५३३५ तथा शिवपुरी यातायातको ८९४१ नम्बरका बस कोल्टी पुगेका थिए । ना७ख ५८७३ का चालक भेषराज रेग्मी पनि आफूहरुलाई स्थानीयले गरेको स्वागतले भावुक बनाएको बताए । सदरमुकाम मार्तडीदेखि कोल्टी बस सेवामा जोडिएसँगै त्यस क्षेत्रका बासिन्दाको यातायात सुविधामा कर्णाली करिडोरसँग पनि पहुँच पुगेको छ । ‘कोल्टी क्षेत्र र कर्णालीका १३ वटा पालिकाका बासिन्दाका लागि स्वास्थ्य सेवा उपलब्ध भएको ठाउँ कोल्टी मात्रै हो,’ बोहराले भने ‘सदरमुकामसम्म बस यातायात सेवा सञ्चालन भए अब कोल्टीमा उपचार सम्भव नभएका बिरामीले तत्काल सदरमुकाम वा अछाम, डडेलधुरा वा धनगढी जान सहज हुने भएको छ ।’