काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बबरमहलस्थित जिल्ला अदालत लगिँदै छ । तर, बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छैनन् । जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार रविलाई अदालत लैजाने टोली तयार भइसकेको छ । तर, जोशीका बारेमा केही जानकारी नभएको उनले बताए ।
सम्पर्क गर्न खोज्दा उनको मोबाइल नेटवर्क कभरेजभन्दा बाहिर रहेको संकेत आयो । ह्वाट्सएप कल रिसिभ भएन । उनी पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । तर, काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् ।
कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका थिए । त्यसैले काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउ’न भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने प्रवक्ता अधिकारीले बताए । रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएका थिए । आज थुनछेक बहस हुने सम्भावना छ । बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निर्क्यौल हुन्छ ।