धनगढी: स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त रवि लामिछाने पुनस् प्रहरी हिरासतमा बस्ने भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतमा बयान सकिएर थुनछेक बहस शुरू नभएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो । रविको बयान समयमै सकिए पनि सरकारी वकिलले बयान अध्ययनका लागि भन्दै समय मागेपछि आइतबार थुनछेक बहस शुरू भएन । त्यसपछि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेर न्यायाधीश माधवप्रसाद अधिकारी नेतृत्वको इजलास अन्य मुद्दामा अगाडि बढेको छ । अब सोमबार यही इजलासमा थुनछेक बहस हुनेछ ।
जिल्ला सरकारी सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा दर्ता गरेको अभियोग पत्रमा स्वर्णलक्ष्मी सहकारीको जीसीएस बैंकिक सफ्टवेयरमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देश रवि र उनका पार्टनर सो संस्थाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राईको संयुक्त ऋण खाता देखिएको उल्लेख गरिएको छ । २०७८ भदौ ४ गते रवि र जीबीको संयुक्त नाममा स्वर्णलक्ष्मीबाट ४६ लाख ९८ हजार र २०७८ पुस १ गते ४६ लाख ४८ हजार ऋण प्रवाह भएको देखिन्छ । शुरूको ऋणको ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा र दोस्रो ऋणको २९ लाख ५२ हजार ४ सय ३७ रुपैयाँ ३९ पैसा अझै तिरिएको छैन ।
सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताका अनुसार जीबी आफैं अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारीबाट आफू र रविको नाममा संयुक्त ऋण प्रवाह गरेर सवारी खरिद गरेको र नतिरेको देखिएको छ । रविले १० पटक गरी रेमिट्यान्समार्फत विदेशमा रकम भुक्तानी गरेको प्रमाण समेत अभियोग पत्रमा उल्लेख गरिएको छ । १० पटकमा रविले ७५ लाख १० हजार २ रुपैयाँ ६ पैसा विदेश पठाएका थिए । गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ००४०१०१००००५७७ बाट सन् २०२० सेप्टेम्बर १३ देखि २०२४ फेब्रुअरी १४ सम्ममा रविसहित अन्य कम्पनी सञ्चालकहरूको हस्ताक्षरबाट जारी भएको १ हजार २ सय ३७ वटा चेक विभिन्न शीर्षकमा गरी ५९ करोड ४९ लाख ४४ हजार ९ सय ५५ रुपैयाँ जम्मा भएको देखिन्छ ।
त्यस्तै, सिद्धार्थ बैंकको खाता नम्बर ००११५९७८०८९७ बाट सन् २०२० सेप्टेम्बर ८ देखि २०२२ सेप्टेम्बर २ सम्ममा २ करोड १९ लाख ९७ हजार ३० रुपैयाँ गरी ६१ करोड ६९ लाख ४१ हजार ९ सय ८५ रुपैयाँ स्वर्णलक्ष्मीसहित अन्य व्यक्ति र कम्पनीलाई भुक्तानी गरेको देखिन्छ । रविले गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा १६ वटा आफ्नै हस्ताक्षर भएको चेकमार्फत ९० लाख १६ हजार ६ सय ६० रुपैयाँ जम्मा गरेका छन् । सन् २०२१ अप्रिल २३ देखि २०२२ मे ३१ सम्ममा उनले १६ वटा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन् ।
रविले जीबीसँग लागेर बदनियतपूर्ण र गैह्रकानूनी तबरले स्वर्णलक्ष्मीमा कुनै धितो समेत नराखी कृत्रिम ऋण खडा गरेर सहकारीका बचतकर्ताको रकम अपचलन गरी बेइमानीपूर्वक गोरखा मिडिया नेटवर्कमा रकमान्तर गरी खर्च गरेको तथ्य सरकारी वकिल कार्यालयले अभियोजन पत्रमा उल्लेख गरेको छ ।