अछाम : अछामका पञ्चायतकालीन नेता हरिप्रसाद भण्डारीले कैलालीको चिसापानी-जंगलघाट-मंगलसेन सडकको अवधारणाको विकास गर्दै २०२४ साल चैत २४ गते सोही सडकबाट सदरमुकाम मंगलसेनसम्म जिप बोकेर पुर्याए । करिब ५७ वर्षअघि तराईसँग पहाड जोड्ने छोटो दूरीको बाटो छिटो बन्नुपर्छ भन्ने सन्देश दिन २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति भण्डारीले कैलालीसँग सीमा जोडिएको भारतको तिकुनियाबाट जिप बोकाएरै मंगलसेन पुर्याएका थिए । गाउँगाउँमा बाजागाजासहित खुसियाली मनाउँदै र काँधमा गाडी बोक्दै , श्रमदान गर्दै मंगलसेनमा झन्डै ५७ वर्ष अघि जिप पुर्याइएको थियो ।
पहिलो पटक गाडी बोकेर मंगलसेनसम्म पुर्याउँदा नजिकैबाट नियालेर खुसियाली मनाउनेमध्येका एक हुन् तुर्माखाँद गाउँपालिका-४ का ८१ वर्षीय नन्दबहादुर बुढा । नन्दबहादुर त्यतिखेर करिब २४ वर्षका थिए । अछाममा गाडी आउने भने पनि उनीजस्ता गाउँका थुप्रै मान्छेहरू हातमा कुटो कोदालो बोक्दै सडक खन्न स्वस्फूर्त गएका थिए । नन्दबहादुरले आफ्नो जीवनकालमा पहिलो पटक देखेको गाडी नै त्यही थियो । ‘गाडी बोकेर ल्याइएको थियो । सबैले पहिलो पटक गाडी देखेपछि फूलमाला लिएर गएका थियौं,’ त्यो समय सम्झिँदै उनी भन्छिन्,‘ त्यतिबेला गाडी बोकेर ल्याइएको थियो । अहिले त सडक कालोपत्र भएर गुड्नु पर्ने हो । तर सबैले भाषण मात्रै गर्छन् । काम गर्दैनन् ।’
चिसापानी-जंगलघाट(मंगलसेन सडकको अछामखण्डमा १ सय १० किलोमिटर सडक छ । पूर्वाधार विकास कार्यालय अछामका अनुसार चिसापानी-मंगलसेन सडकअन्तर्गत अछामको गैरिटाँड -कमलबजार-बाँसकाँडा २३ किलोमिटर सडकको गत वर्ष सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले शिलान्यास गरेका थिए । सो सडकखण्डको कैलाली क्षेत्रमा भने केही किलोमिटर कालोपत्र भएको छ । अछाम खण्डमा भने यस वर्ष २३ किलोमिटर कालोपत्र गरिने भएको छ ।
गैरिटाँड -कमलबजार-बाँसकाडा सडक २३ किलोमिटर सडकको आयोजनाको लागत ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६६ रुपैयाँ रहेको छ । पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत पीके निमार्ण सेवा, घोराही दाङले ठेक्का पाई काम गरिरहेको छ । सो खण्डको कालोपत्र २०८२ पुस २९ गतेभित्र गरी सक्नुपर्ने सम्झौता रहेको छ । गैरीटाँड-बाँसकाडा सडकको काम छरितो रूपमा भए पनि तुर्माखाँददेखि चिसापानी सडकखण्डको ७६ किलोमिटर सडकमा भने अपेक्षाअनुसारको काम नभएको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताए । ‘सडकमा काम हुँदै नभएको पनि होइन । छिटो छरितो भएको पनि छैन । जंगलघाटमा बन्ने पक्की पुलको प्रक्रिया बल्ल सुरु भएको छ । कछुवाको गतिमा काम भएको देखिन्छ,’ उनले भने ।
चिसापानी–जंगलघाट–मंगलसेन सडकले सुदूरपश्चिमका कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्ला जोड्छ । कुइनेको कर्णाली नदीमा पक्की पुल निर्माण पूरा भएको छ भने जंगलघाटको कर्णाली नदीमा पुल निर्माणको ठेक्का भएको छ ।
चिसापानी(जंगलघाट सडकखण्डको बारेमा सस्तो प्रचार मात्र भएको काम भने नभएको पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष बेदप्रकाश तिमिल्सैनाले बताए । ‘सस्तो प्रचारका लागि कनिका छरे जसरी बजेट हाल्दैमा विकास हुँदैन । केही करोडले हुँदैन ८र१० अर्ब बजेट भएपछि मात्र यो सडक पूरा हुनसक्छ । तर नीतिनिर्माताहरूको ध्यान यता छैन । हामीलाई चासो थियो । म स्वयं एक नागरिकका हैसियतले वर्षौंदेखि चिसापानी(जंगलघाट सडकको लागि आवाज उठाइरहेको छु,’ उनले भने ,‘यसमा अरु साथीहरू पनि हुनुहुन्छ ।’ तराई(पहाड जोड्ने यो सडकलाई द्रुर्तमार्ग ९फास्ट ट्रयाक० नाम दिएर दबाब दिएपछि वर्षौंदेखि अवरुद्ध काम सुरु भएको उनले स्मरण गरे । ‘खासगरी नीतिनिर्माताको ध्यानाकर्षण नहुँदा अहिलेसम्म यो सडक आयोजनाले सार्थकता पाउन सकिरहेको छैन,’ उनले भने ।
कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो सडक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो राजमार्ग बन्न नसक्दा अहिले अछामका स्थानीय बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेलधुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ ।
चिसापानी(मंगलसेन सडक निर्माण हुन सके यो दूरी २ सय किलोमिटरले छोटिन्छ । कैलाली र सुर्खेतका २२ वटा स्थानीय तह र अछामीका लागि यो सडक महत्त्वपूर्ण छ । ‘ट्रयाक खुलेपछि यो बाटोबाट मोटरसाइकलबाट तराई पहाड यात्रा गर्नेहरू धेरै बढेका छन् । कच्ची सडक भएकाले दैनिक जसो दुर्घटना पनि भएकै हुन्छन्,’ कैलालीको मोहन्याल गाउँपालिका –७ कारुवाका रुपबहादुर साउदले भने ।