पोखरा — कास्की जिल्ला अदालतको आदेशले बिहीबार साँझ हिरासतमुक्त भएका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं प्रहरी परिसरमा हाजिर हुने भएका छन् । हिरासतमुक्त भएका लामिछाने गएराति पोखरामै रहे । शुक्रबार उनी काठमाडौँ आउने र प्रहरी परिसरमा हाजिर हुने गरी बिहीबार साँझ रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई प्रहरीले जिम्मा लगाएको थियो । ६५ लाख धरौटी बुझाएर हिरासतमुक्त भएपछि लामिछानेलाई कास्की प्रहरीले परिवारका तर्फबाट उनकी श्रीमती निकिता पौडेलको रोहबरमा कागज गरी रास्वपाका कार्यवाहक सभापति अर्याललाई जिम्मा लगाएको थियो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गरेर मुद्दा चलाएको छ । कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले लामिछाने र छविलाल जोशीलाई उपस्थित गराउन काठमाडौं प्रहरी परिसरबाट पत्र प्राप्त भएको र दुवैलाई शुक्रबारसम्म उपस्थित हुने गरी अर्यालको जिम्मा लगाइएको बताए । जोशीविरुद्ध पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा परिसरबाट पक्राउ पुर्जी जारी भएर काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । उनलाई छोरा रोचक जोशीको रोहबरमा अर्याललाई नै जिम्मा लगाइएको हो । शुक्रबार काठमाडौं प्रहरी परिसर पुगेपछि लामिछाने र जोशीलाई परिसरले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउनेछ ।
यसअघि कास्की प्रहरीको हिरासतमा रहेका ७ जनामध्ये बिहीबार लामिछाने र जोशीसहित ६ जना अदालतले माग गरेबमोजिमको धरौटी बुझाएर रिहा भएका छन् । जोशीले ८८ लाख, लामिछानेले ६५ लाख, रामबहादुर खनालले १५ लाख, मीना गुरुङले ५ लाख, आरती गुरुङले ५ लाख र कृष्णबहादुर गुरुङले १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । लीला पछाईं भने धरौटीको प्रक्रियामा नगएपछि कागज गरी कास्की कारागार चलान गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । पछाईंको परिवार सम्पर्कमा आएर अदालतले तोकेको धरौटी बुझाएपछि थुनामुक्त गरिने खनालले जानकारी दिए । पछाईंसँग अदालतले ३७ लाख रुपैयाँ धरौटीस्वरूप माग गरेको छ ।
धरौटी रकमबापत जोशी र लामिछानेको हकमा बैंक ग्यारेन्टी राखिएको छ । प्रभु बैंकका कर्मचारी उपस्थित भएर जिम्मा लिएपछि उनीहरूलाई रिहा गरिएको स्रेस्तेदार खनालले बताए । बाँकी ४ जनाले नगदै बुझाएर रिहा भएका हुन् । लामिछाने र जोशीलाई बिहीबार नै स्वास्थ्य जाँच गरी थुनामुक्त गरिएको थियो । थुनामुक्त भएपछि लामिछानेले धेरै लडाइँ बाँकी नै रहेको बताउँदै न्यायालयप्रति आफू विशेष आभारी रहेको प्रतिक्रिया दिए ।
लामिछाने थुनामुक्त भएपछि बिहीबार पोखरामा नै रात बिताएको रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले बताए । ‘उहाँ पार्टीले व्यवस्था गरेको गाडीमा शुक्रबार काठमाडौं जानुहुन्छ,’ उनले भने । लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतको आदेश आएलगत्तै रास्वपा कार्यकर्ताले पोखराको राष्ट्र बैंक चोक र कोमागाने पार्कमा खुसियाली मनाएका थिए ।