बैतडीः बैतडीका एक युवक भारतमा मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २६ बर्षीय टेकेन्द्र धामी भारतमा मृत फेला परेका हुन्। रोजगारीको सिलसिलामा ६ महिना अघिमात्रै कतार पुगेका धामी भारतको बाटो हुँदै घर फर्किरहेका थिए। घर फर्कने क्रममा उनी भारतको मुरदावादमा मृत फेला परेका मृतकका काका शेरबहादुर धामीले बताए। रोजगारीका लागि कतार पुगेका धामीमा मानसिक समस्या देखिएको थियो।
उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो। कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए। दिल्लीबाट गाडीमा चढेका धामी गाडीमा तेल हाल्ने बेला भागेका र पछि खोजी गर्दा मृत फेला परेको बताइएको छ। भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन्।