कञ्चनपुर: बारीभरि काउली र बन्दा बिक्री गर्न तयार भइसकेका छन् । हरियो प्याज पनि तयार हुँदै छ । सिमी र भाण्टा टिपेर बजार पठाउन थालिएको छ । भारतसँग सीमा जोडिएको दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजका ललितसिंह ठकुरीको बारी अहिले सबै प्रकारका तरकारीले भरिएको छ । डेढ वर्षदेखि तरकारी खेतीमा लागेका ठकुरीले अहिले ४ विघा जमिनमा विभिन्न तरकारी उत्पादन गरेका छन् । उनले वर्षमा २५ लाख हाराहारी बचत गर्छन् । अहिले काउली मात्रै उनले ८० हजार बढीको बिक्री गरिसकेका छन् । त्यतिकै बराबरको बन्दा पनि बिक्री हुने उनको अपेक्षा छ ।
‘डेढ कठ्ठामा लगाएको काउलीबाट ८० हजार आम्दानी भयो,’ ठकुरीले भने, ‘यसमा फेरि बेमौसममा उत्पादन हुने गरी काउली रोप्ने हो ।’ उनले डेढ कठ्ठामै बन्दा पनि लगाएका छन् । अहिले प्रतिकिलो ७० मा बिक्री भइरहेको छ । उनले काउली प्रतिकिलो १ सय ५५ मा बिक्री गरे । अहिले मुल्य घटेर प्रतिकिलो ४०/४५ पुगेको छ । ठुकरीले आधा विघामा सिमी लगाएका छन् । सिमी पनि प्रतिकिलो ८० मा बिक्री भइरहेको उनले बताए । सिमीबाट मात्रै उनले ५ लाख बढी आम्दानी हुने अपेक्षा गरेका छन् । यसबाहेक एक विघामा आलु, एक विघामा प्याज लगाएका छन् । अहिले आधा विघामा प्याजको बेर्ना पनि तयार भइरहेको छ । बेर्ना बेचेर पनि एकरडेढ लाख आम्दानी गर्ने उनको लक्ष्य छ ।
ठकुरीसंग ६ विघा जमिन छ । उनी परम्परागत रुपमा धान गहुँ खेती मात्रै गर्दथे । यसबाट विघामा २५र३० हजार आम्दानी हुन्थ्यो । तर अहिले एक विघामा हुने आम्दानी भन्दा बढी उनले एक कठ्ठाबाटै गरिरहेका छन् । ‘पहिले विघामा हुने आम्दानी भन्दा बढी त अहिले एक कठ्ठाबाटै भइरहेको छ,’ उनले भने, ‘त्यतिबेला तरकारी खेतीबारे धेरै थाहा थिएन, विभिन्न तालिममा सहभागी भएपछि यसमा लागे ।’ अहिले उनले बारीमा काम गर्न ७ जना कामदारलाई राखेका छन् । घर परिवारका सदस्यले पनि काम गरिरहेका छन् । धन गहुँ खेतीभन्दा फाइदा बढी भएपनि जोखिम भने तरकारी खेतीमा पनि उच्च रहेको उनले बताए । गएको असार र भदौमा परेको अविरल वर्षाले ठुलो मात्रामा लहरे तरकारी नोक्सान भएर घाटा लागेको उनले बताए । बिक्री गर्न तयार भएका फर्सी, लौका र करेला पानीले कुहिएको उनले बताए । त्यति मात्रै होइन लहाराहरु समेत कुहिएर लगानी समेत नउठेको उनले बताए ।
उसो त यहाँउत्पादन भएको तरकारी महेन्द्रनगरसम्म पुर्याउन समेत गाह्रो छ । ढुवानी भाडा पनि महंगो हुन्छ । उत्पादन भएको सबै तरकारी महेन्द्रनगरमै खरिद पनि हुदैन । त्यहि भएर ठकुरीले तरकारी खेतीमा लागेका अन्य स्थानीयसंग पनि ढुवानीका लागि साधन खरिद गर्ने विषयमा छलफल गरिरहेका छन् । साधन खरिद गर्न सके तरकारी धनगढी, नेपालगञ्ज र बुटवल सम्म पुर्याए राम्रो मुल्य पाउने उनको बुझाई छ । कहिले काँही महेन्द्रनगरमा खपत नभएको तरकारी सीमावर्ती बजार भारत उत्तराखण्डको खटीमास्थित मण्डीमा लैजाने गरेका छन् । तर नियमित रुपमा लैजना भारतीय सुरक्षाकर्मीले अवरोध गर्दछन् । त्यहि भएर उत्पादन भएको तरकारी स्वदेशमा बिक्री गर्न सके राम्रो हुने र यसमा स्थानीय तहले पनि आवश्यक सहयोग गर्नुपर्ने उनी बताउँछन् ।
ठुकरीले १२ लाख खर्च गरेर तरकारी खेतीकै लागि उच्च प्रविधिको टनेल निर्माण गरिरहेका छन् । उक्त टनेलमा बेमौसमी तरकारीदेखि च्याँउ लगायत उत्पादन गर्ने योजना छ । यसबाहेक तरकारी बेर्नाहरु पनि उत्पादन गर्ने उनले योजना बनाएका छन् ।