धनगढी । नेपालको तराई क्षेत्रमा ३ दिन यता लागेको हुस्सु कुहिरो अझै हट्न सकेको छैन । बाक्लो हुस्सुसँगै शीतलहर पनि चलेका कारण चिसो बढेको छ । तर सरकारले शीतलहर घोषणा गरिसकेको छैन ।
शीतलहर चलेको घोषणा गर्न आवश्यक मापदण्डबारेमा सुक्ष्म अवलोकन गरिरहेको र सबै मापदण्ड पूरा भएमा घोषणा गर्ने मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।
मौसमविद झाका अनुसार अधिकतम र न्यूनतम तापक्रमबीच पाँच डिग्री सेल्सियस फरक, पारदर्शिता एक किलोमिटरभन्दा कम र पानी तपतप चुहिने अवस्थालगातार तीन दिनसम्म भयो भने शीतलहर चलेको घोषणा गरिन्छ ।
हुस्सु र कुहिरोले सडकमा सवारी साधन चलाउन पनि समस्या हुने गरेको छ । तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्ने मौसमविदले बताएका छन् । त्यस्तै
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
सुदूरपश्चिम प्रदेशको मौसम
दिउँसो हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।