काठमाडौं । नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्याएरनपुर्याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् । आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो । नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ ।
यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका अधिकारीहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भएरनभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् । स्थानीय तह र प्रहरी फौज रहेको स्थानहरुमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भूकम्पले क्षति भयो कि भएन भनेर सबै स्थानीय तह र प्रहरी इकाइमा सम्पर्क गर्ने काम जारी रहेको बताए । सम्पर्क भएका स्थानमा भने अहिलेसम्म क्षतिको जानकारी नभएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘अहिलेसम्म प्राप्त सूचनामा ताप्लेजुङमा कुनै पनि प्रकारको मानवीय र भौतिक क्षति छैन भन्ने छ । यद्यपि थप भेरिफाइ पनि गर्दैछौं ।’ उनले घुन्सा लगायतका क्षेत्रमा पनि बुझ्ने काम भइरहेको जानकारी दिए । राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए ।
संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले पनि जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको जानकारी छैन,’ डिएसपी बस्नेतले बताए ।
यसैगरी दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने । नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको अनलाइनखबरलाई बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने । भूकम्पले राजधानी काठमाडौंमा पनि कडा धक्का महसुस भएको थियो । एकाबिहानै भूकम्प गएपछि काठमाडौंबासी घर बाहिर निस्किएर खुला ठाउँमा गएका थिए । काठमाडौंमा पनि क्षतिको विवरण प्राप्त नभएको नेपाल प्रहरीको कन्ट्रोल रुमका कर्मचारीहरुको भनाइ छ ।