धनगढी: चीनको हाङचाउमा एक वर्षअघि भएको एसियाली खेलकुदमा नेपालले एउटा कांस्य पदक जित्यो । त्यो आएको थियो महिला कबड्डी टिमबाट । त्यही टिमका १२ जना सदस्यमध्ये सात जना थिए, सुदूरपश्चिमका । कांस्य पदक विजेता कबड्डी खेलाडी जयन्ती बडू, मानमती विष्ट, रविना चौधरी, नितु गुरुङ, सुनिता थापा, कलावती पन्त र अर्पणा चौधरीको घर सुदूरपश्चिम हो ।
यस्तै, १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बनाएका थुप्रै कीर्तिमानमध्ये एउटा महिला कबड्डीबाटै बनेको थियो । कबड्डीमा पहिलोपटक नेपालले रजत जितेको थियो । रजत विजेता १२ जना खेलाडीमध्ये ६ जना थिए, सुदूरपश्चिमका । नेपालले खेल्ने महिला कबड्डीमा मात्रै नभएर पुरुष कबड्डीमा पनि सुदूरपश्चिमको वर्चस्व छ । तीन महिनाअघि जेठमा बंगलादेशको ढाकामा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको थियो । प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ४५–३१ ले पराजित भएको थियो । उक्त प्रतियोगितामा पनि ६ जना सुदूरपश्चिमकै खेलाडी थिए । प्रतियोगितामा सहभागिता जनाएका सुशील चुनारा, गणेश पार्की, प्रकाश गिरी, मनोज भट्ट कपाडी, खगेन्द्रराज जोशी र जितेन्द्र अवस्थीको घर सुदूरपश्चिम हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्रै होइन राष्ट्रिय कबड्डी प्रतियोगितामा पनि सुदूरपश्चिमको वर्चस्व छ । पाँच महिनाअघि भएको केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम प्रदेश पहिलोपटक च्याम्पियन बन्यो । सुदूरपश्चिम च्याम्पियन बन्दा कबड्डीको भूमिका महत्वपूर्ण थियो । राष्ट्रपति रनिङ शिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जितेको थियो । सुदूरपश्चिम छात्ररछात्रा दुबैमा उपाधि जित्त सफल भएको थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह नेपाली कबड्डी खेल सुदूरपश्चिमले नै धानेको बताउँछन् । ‘सुदूरपश्चिममा कबड्डी खेलप्रतिको लगाव धेरै छ,’ उनले भने, ‘यहाँका ९ वटै जिल्लामा कबड्डी खेल खेलिन्छ । कबड्डी खेलका लागि धेरै भौतिक संरचनाको पनि आवश्यकता पर्दैन ।’
सिंहका अनुसार कबड्डी खेल सुदूरपश्चिममा विद्यालयस्तरबाटै हुने भएकाले यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पनि बढी उत्पादन भइरहेका छन् । ‘कैलाली र कञ्चनपुरमा कबड्डी खेलका लागि राम्रो प्रशिक्षणको पनि व्यवस्था छ,’ उनले भने । सुदूरपश्चिमले कबड्डीमा राम्रो गरिरहनुमा प्रशिक्षक विष्णुदत्त भट्टको भूमिका पनि निकै महत्वपूर्ण छ । कञ्चनपुरको भीमदत्तनगर घर भएका नेपाली कबड्डीका प्रशिक्षक भट्टको कञ्चनपुरमै कबड्डी एकेडेमी पनि छ । उनी खेलाडी हुँदा सुदूरपश्चिमले ११ वटा राष्ट्रिय कबड्डी खेल खेलेको थियो । तीमध्ये १० वटामा फाइनल खेलेकोमा एउटा उपाधि सुदूरपश्चिमले जितेको थियो । उनले भीमदत्त नगरलाई त कबड्डीको हब नै बनाइदिएका छन् ।
‘भीमदत्त नगरपालिकाको मात्रै कुरो गर्दा पनि विभागीय टिममा ५० प्रतिशत खेलाडी सोही नगरपालिकाका छन्,’ भट्टले भने, ‘भीमदत्त मात्रै होइन विभागीय टिममा ८० प्रतिशत खेलाडी सुदूरपश्चिम प्रदेशका भेटिन्छन् ।’ उनका अनुसार सुदूरपश्चिममा कबड्डी खेलप्रति छुट्टै माया छ । ‘सुदूरपश्चिमले कबड्डीलाई राष्ट्रिय खेल भलिबल जत्तिकै माया गरेको छ,’ उनले भने, ‘यहाँका विद्यालय–विद्यालयमा कबड्डी प्रतियोगिता भइरहेका छन् । अहिले प्रदेश सरकारले पनि कबड्डीको विकासका लागि काम गरिरहेको छ ।’
कबड्डीकी अन्तर्राष्ट्रिय खेलाडी जयन्ती बडूलाई पनि नेपाली कबड्डी सुदूरपश्चिमले नै धानेको महसुस हुन्छ । ‘राष्ट्रिय प्रतियोगिता खेल्दा विभागीय टिममा पनि सुदूरपश्चिमकै खेलाडीको वर्चस्व हुन्छ,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पनि नेपाली टिममा आधाभन्दा बढी खेलाडी सुदूरपश्चिमकै भेटिन्छन् ।’ कबड्डीमा सुदूरपश्चिमले राम्रो गर्नुमा प्रशिक्षण उत्कृष्ट हो भन्छिन् बडू । ‘नेपाली टोलीलाई नै प्रशिक्षण गर्ने प्रशिक्षक सुदूरपश्चिम प्रदेशमै भएकाले यहाँ कबड्डीका बढी खेलाडी जन्मिरहेका छन्,’ उनले भनिन् ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंह प्रदेशकै प्रतिनिधित्व गर्नेगरी खेलाडी टिकाउन भने समस्या भइरहेको बताउँछन् । ‘अन्य खेल जस्तै कबड्डीका खेलाडी पनि टिकाउन भने समस्या छ,’ उनले भने, ‘राष्ट्रियस्तरको खेलाडी बन्ने बित्तिकै विभागीय टिमले तान्ने निकै समस्या छ । यो सुदूरपश्चिमको खेल क्षेत्रका लागि सबैभन्दा ठूलो पीडा हो । प्रदेशले खेलाडीलाई जीवन निर्वाह गर्न सामान्य पारिश्रमिक पनि दिन नसकेकोले १०र१२ हजारमै उनीहरू विभागीय टिममा आवद्ध हुने गरेका छन् ।’ सिंहका अनुसार खेलाडीलाई सामान्य पारिश्रमिक दिन सके पनि प्रदेशमा टिकाउन मुस्किल नहुने बताउँछन् । ‘खेलाडीको स्तरअनुसार पारिश्रमिक दिने व्यवस्था प्रदेश सरकारले गर्नुपर्छ,’ उनले भने, ‘यस्तो भए विभागीय टोलीले खेलाडी तान्ने समस्याको निराकरण हुन्छ । सुदूरपश्चिम खेल क्षेत्रमा थप अब्बल पनि बन्दै जानेछ ।’