धनगढी: छाडा चौपायाले हैरान पारेपछि गहुँ, मसुरो खेती छाडेर किसानहरु तोरी खेतीतिर आकर्षित भएका छन् । चौपायाले गहुँभन्दा तोरीलाई कम नोक्सान गर्ने गरेको भन्दै कुषकहरुले गहुँ घटाएर तोरी खेती बढाएका हुन् । भारततिरबाट आउने छाडा चौपायाले बर्सेनी हिउँदेबाली नोक्सान गर्न थालेपछि बाध्य भएर यसवर्ष तोरी खेतीमात्र गरेको कैलालीको कैलारी गाउँपालिका –३ भर्रीका कृषक जगदीश चौधरीले बताए ।
“पहिले सबै खेतमा गहुँको मात्र खेती गर्दैआएको थिएँ” उनले भने, “पछिल्लो केही वर्षदेखि छाडा चौपायाले गहुँ खतमै पार्न थाले । गहुँ बचाउन मुस्किल भएकाले यसवर्ष तोरी खेती चुनें ।” कैलालीमा छाडा चौपाया समस्या समाधान हुन सकेको छैन । विभिन्न स्थानीय तहले छाडा चौपाया व्यवस्थापनको नाममा करोडौं खर्च गरिसकेका छन् । तर समस्या अझै पनि न्यूनीकरण भएको छैन । छाडा चौपायाले खेतीपाती नोक्सान गर्ने गरेकाले धेरैजसो किसान हिउँदभरि खेतमै रात बिताउने गरेका छन् । उनीहरु रातभर जाग्राम बसेर चौपाया धपाउने काम गर्दैआएका छन् ।