धनगढी । पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गरेका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त भएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उनलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो । आज धनगढीमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गरेका हुन् ।
उपाध्यायले कैयौं वर्षदेखि बिरामीलाई रगत उपलब्ध गराउनका लागि सहयोग गर्दै आएका थिए । यसैगरी, उनले रक्तदान कार्यक्रम सञ्चालन र रक्तदान गर्नका लागि विभिन्न सङ्घ संस्था, व्यक्तिलाई घचघच्याउनुका साथै प्रेरणा प्रदान गर्दै आएका छन्।
धनगढी निवासी उहाँले हालसम्म १०७ पटक रक्तदान गर्नुभएको छ । रगत आवश्यक पर्ने बित्तिकै धेरैजसो बिरामीका आफन्तले उहाँलाई सम्पर्क गर्ने गरेका छन् ।