धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारी सनिटोलकी ३६ वर्षीया भावना पुलामी मगरलाई प्रायःले ‘दुना–टपरीवाली दिदी’ भनेर चिन्छन् । सालका पात गाँसेर दुना–टपरी बनाउने भावनाको पानीडाँडा दुना–टपरी उद्योग सुदूरपश्चिमभर प्रसिद्ध छ । भावना आफू मात्रै उद्यमी बनेकी छैनन्, कैलालीको फूलबारीका अन्य इच्छुक महिलालाई पनि आम्दानीको बाटो दिलाएकी छन् । उनले उद्योगबाट मासिक कम्तीमा एक लाख रुपैयाँसम्मको दुना–टपरी बेच्दै आएको बताइन् । दुना–टपरीको कारोबार गरेर गाउँका थुप्रै महिलाले लाभ लिइरहेका छन् ।
केही न केही गर्ने हुटहुटीमा भावना सात–आठ वर्षअघि नवलपरासीमा बहिनीको घर गएकी थिइन् । त्यहाँ दुना–टपरी उद्योग देखेपछि उनलाई आफूले पनि गर्न सक्छु भन्ने लाग्यो । ०७४ सालमा घरेलु तथा साना उद्योग कार्यालयबाट उनले दुना–टपरी बनाउने तालिम लिएपछि घरमै बनाउने कार्य सुरु गरेकी थिइन् । ०७६ मा भावनासहित तीन जना मिलेर फूलबारीमै दुनाटपरी उद्योग दर्ता गरे । उत्पादन पनि सुरु भयो । स्थानीय विष्णु भुसाल र सरिता बुढामगरलाई भावनाले उद्योगमा साझेदार बनाएकी थिइन् । तर उनीहरूबीच धेरै लामो समयसम्म साझेदारी चल्न सकेन । उनीहरू अलग भए । भावनाले एक्लै उद्योग सञ्चालन गरिन् ।
भावनाको उद्योगमा हाल तीन जना महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँका करिब ५० जनाभन्दा बढीले जंगलबाट सालका पात संकलन गरेर बिक्री गर्न पाएका छन् । जंगलबाट सालका पात संकलन गरेर ल्याउनेहरूले एक दिनमा दुई–अढाई सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको भावनाले बताइन् । उनले हरियो पात प्रतिकिलो ८ रुपैयाँमा किन्ने गर्छिन् । केहीले जंगलबाट पात संकलन गरेर किलोका दरले बिक्री गर्छन् भने केहीले उद्योगमै आएर पात लगाउने काम गर्छन् । ‘टपरीका लागि पात गुथेबापत एउटा टपरीको एक रुपैयाँ र दुनाको तीस पैसा पाउने गरेका छौं,’ स्थानीय बुनु लामाले भनिन्, ‘एक दिनमा चार–पाँच सय रुपैयाँ त सहजै कमाइ भइहाल्छ ।’
सरिता चौधरीले पनि जंगलबाट सालका पात संकलन गरेर ल्याएर बिक्री गर्ने गरेकी छन् । ‘समय मिलाएर कहिले पात संकलन गर्ने र कहिले दुना–टपरी लगाउने गरेको छु,’ सरिताले भनिन् । भावनाका अनुसार उद्योगमा एक दिनमा दुई हजार दुई सय टपरी र तीन हजार पाँच सय दुना उत्पादन हुन्छ । उनलाई आधुनिक मेसिन र बिजुलीबत्तीको समस्या छ । उद्योगमा सात वटा मेसिन भए पनि तीन वटा मात्र सञ्चालनमा छन् । ‘सबै सञ्चालनका लागि बिजुलीको भोल्टेज पुग्दैन । अलग्गै थ्रिफेज लाइन चाहिने रहेछ । त्यो राख्न पैसा छैन,’ उनले भनिन्, ‘हाते मेसिन, जाते र फिते मेसिन मात्र सञ्चालनमा छन् । हाइड्रोलिक मेसिन बिजुली पावर नपुगेर सञ्चालन गर्न सकिएको छैन ।’ हाइड्रोलिक मेसिन भएको भए दैनिक १० हजार जति उत्पादन हुने उनको भनाइ छ ।
एउटा दुना डेढ रुपैयाँ फुटकर मूल्यमा बिक्री गर्छिन् भावना । होलसेलमा खरिद गर्नेका लागि प्रतिदुनाको मूल्य एक रुपैयाँ निर्धारण गरिएको छ । टपरीको होलसेल मूल्य चार रुपैयाँ र फुटकर मूल्य पाँच रुपैयाँ राखेकी छन् । भावनाको उद्योगले उत्पादन गरेका दुना–टपरी सबैभन्दा बढी धनगढी, महेन्द्रनगर, पोखरा र काठमाडौं व्यवसायीले खरिद गर्ने गरेका छन् । ‘सबैभन्दा धेरै पोखरा पठाउने गरेको छु,’ भावनाले भनिन्, ‘एक सातामा ३ देखि ३५ हजार रुपैयाँ बराबरको दुना–टपरी पोखरा पठाउने गरेको छु । दैनिक एक लाख रुपैयाँसम्मको पठाउनुपर्ने माग छ । तर मैले भ्याउन सकेकी छैन, उत्पादन कम छ ।’ पोखरास्थित सदा शिव पूजा भण्डारले दुना–टपरी खरिद गर्ने गरेको भावनाले बताइन् ।
उक्त पसलले यहाँबाट उत्पादित दुना–टपरी लगेर अस्ट्रेलिया, बेलायत र अमेरिका पठाउने गरेको भावना बताउँछिन् । ‘उहाँहरूसँग प्याकिङ मेसिन छ । उक्त मेसिनबाट फिनिसिङ राम्रो बनाएर विदेश निर्यात गर्नुहुन्छ,’ भावनाले भनिन्, ‘उहाँहरूको कमाइ त झन् राम्रो छ ।’ प्याकिङ मेसिनमा आधुनिक मेसिनको खाँचो रहेको उनले बताइन् । ‘महँगो मूल्य पर्ने रहेछ । आफैंले किन्न सक्ने अवस्था छैन । नगरपालिकामा अनुरोध गरेको छु,’ उनले भनिन्, ‘खै के गर्छ, किनिदिए त राम्रो हुने थियो ।’ धनगढी उपमहानगरले ०७९ असोजदेखि नगरक्षेत्रभित्र प्लास्टिक प्रयोगमा निषेध गर्यो । प्लास्टिक बन्द भएपछि विकल्पमा दुना–टपरीको प्रयोग बढ्न थाल्यो । भावनालाई त्यसको व्यापारिक फाइदा पनि पुग्न गयो ।
दुना–टपरीको माग र बजार बढ्यो ।
‘अहिले माग र बजारको त समस्या नै छैन,’ भावनाले भनिन्, ‘जति धेरै उत्पादन गरे पनि बिक्री हुने अवस्था छ ।’ व्यापारसँगै अहिले भावना विभिन्न ठाउँमा प्रशिक्षक भएर हिँडिरहेकी छन् । ‘तालिम दिनका लागि सुदूरपश्चिमका सबै जिल्लामा पुगिसकें,’ भावनाले भनिन्, ‘अन्य प्रदेशका जिल्लामा बोलाउने गरेका छन् । अहिले त तालिम दिनै समय बित्छ ।’ आफू जहाँ भएपछि टेलिफोनबाटै उद्योगको कामकाज र रेखदेख समन्वय गर्ने गरेको उनले बताइन् । दुना–टपरी उत्पादनसम्बन्धी तालिमका लागि एक सातादेखि १० दिने प्रशिक्षण आवश्यक पर्ने उनले बताइन् । ‘पूर्वमा इलामसम्म तािलम दिन गएकी छु,’ उनले भनिन्, ‘भर्खरै बैतडीमा १० दिने तालिम सकेर आएँ । यसपछि लगत्तै डोटी जानु छ ।’
हुन त अहिले जुन तालिम प्रशिक्षक र उद्यमीको पहिचान उनले बनाएकी छन्, सुरुमा उनले निकै चुनौतीको सामना गर्नुपरेको थियो । एक छोरा र एक छोरीकी आमा भावनाले उद्यम सुरु गर्दाका कठिन दिनको सम्झना गरिन् । उनले श्रीमान्बाटै सहयोग नपाएको दुखेसो सुनाइन् । ‘श्रीमान् वैदेशिक रोजगारीमा साउदी हुनुहुन्थ्यो । उहाँले अरूका कुरा सुनेर सपोर्ट गर्नु हुन्नथ्यो । विभिन्न कुरा सुनेर तनाव दिनुहुन्थ्यो । घरबाहिर हिँडेको उहाँलाई मन पर्दैनथ्यो । नजानु भन्नु हुन्थ्यो,’ उनले भनिन्, ‘तर म आफ्नो उद्देश्यमा अविचलित भएर अघि बढिरहें ।’ अहिले त श्रीमान्ले पनि राम्रै मान्ने गरेको उनले सुनाइन् । ‘अहिले त मैले गरेको प्रगति देखेर श्रीमान् खुसी हुनुहुन्छ,’ उनले भनिन् ।