काठमाडौँ – नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले वन मन्त्रालयका कर्मचारीहरूले सांसदहरूलाई केही नजान्न जस्तो ठान्ने गरेको बताएका छन । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसद बलायरले सांसदहरूलाई केही नजान्ने, ज्ञान नभएको जस्तो ठान्ने गरेको बताएका हुन । कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भूमिकालाई समेत वन मन्त्रालयले ओझेलमा पारेको उनले बताए । जलवायु सम्मेलन जस्ता सम्मेलनहरू निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गरे । जलवायु परिवर्तनका असरविरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ ।
बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गरे । राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताए । कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हासिल हुन नसकेको तर्क गरे । ठूलाठूला भौतिक संरचना बनाउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताए । रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोसिस नगर्न चेतावनी दिए ।