धनगढी: कैलालीमा सुदूरपश्चिमकै सबैभन्दा बढी धनराशीको क्विज कन्टेस्ट प्रतियोगिता हुने भएको छ । धनगढीमा रहेको सनराईज मिडियाले पुसदेखी सुरु हुने गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । जेठ महिनासम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख रुपैया सहित ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्परहरु रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ । प्रतियोगितामा कैलाली र कञ्चनपुरका सबै स्थानियतहका विद्यालयहरुले सहभागिता जनाउन पाउने सनराईज मिडियाका अध्यक्ष उत्तम थापाले जानकारी दिए ।
उनले प्रतियोगितालाई रियालिटि शो को फम्यार्टमा सञ्चालन गरिने बताए । उनका अनुसार प्रतियोगितामा मेघा, आइरन, सिल्वर, गोल्ड र डाइमन्ड अडिसन हुनेछन भने त्यसपश्चात सेमिफाईनल राउन्ड र अन्त्यमा ग्रान्ड फिनाले आयोजना गरिनेछ । अध्यक्ष थापाले प्रतियोगिताको द्धितिय पुरस्कार नगद रु। ५० हजारका साथै ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर, तृतिय पुरस्कार नगद रु. २५ हजारका साथै ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर तथा सान्त्वना पुरस्कार स्वरुप नगद रु। १० हजारका साथै ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको बताए । प्रतियोगितामा प्रत्येक विद्यालयका कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने उनको भनाई छ ।
प्रतियोगितामा एउटा समुहमा ३ जना रहने बताईएको छ । जसमा २ जना प्रतिष्पर्धामा सहभागी हुनेछन् र एक जना बैकल्पीक सहभागिका रुपमा रहनेछ । एउटा विद्यालयबाट बढीमा २ वटा सम्म समूहले प्रतियोगितामा सहभागिता जनाउन पाउने अध्यक्ष थापाले बताए । उनले विद्यार्थीहरुलाई विद्यालयबाट हुने पढाईका अलावा बाहिरी ज्ञान सिक्ने वातावरण तयार गर्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा करिब २८ लाख खर्च हुने अनुमान गरिएको छ ।