धनगढी । कैलालीको कैलारी गाउँपालिका–२, बसौटीमा बाली जोगाउन गाउँलेहरू पालैपालो रातभरि जाग्राम बस्ने गर्दछन् । बचौनी देवी चौधरीका श्रीमान आफू रातभरि जाग्राम बस्ने दिन कुरिरहेका छन् । बसौटीका बासिन्दा खेतबारीमा रहेको अन्नबाली छाडा चौपायाबाट जोगाउन रातभरि पहरा दिने गर्दछन् । जाग्राम बस्न बनाइएको टहरा नजिकै भेट भएकी बचौनीले भनिन्, ‘गाउँभरिकै मानिसको पालो आउँछ । समूह बनाएर प्रत्येक रात पहरा दिनुपर्छ । यसरी पहरा दिइएन भने खेतबारीमा लगाएको बाली नै जोगिन्न ।’ बसौटी गाउँका भलमन्सा बासु चौधरीका अनुसार सो गाउँमा २०६ घरधुरीको बसोबास छ । स्थानीय करमदेव सामुदायिक वनबाट आउने छाडा चौपायाले बाली सखाप पार्न थालेपछि दिनरात बाली कुर्न बस्नुपरेको स्थानीयवासी बताउँछन् ।
स्थानीयले सामुदायिक वनको दुई वटा प्रवेशद्वारमै गेटसहित पहरा घर अर्थात् टहरा बनाएका छन् । स्थानीयले पहरा दिन ८ समूह बनाएका छन् । ८ समूहभित्र पनि ३र३ वटा उपसमूह छन् । ती उपसमूहका ७र÷८ जना मानिसको समूहले राति जाग्राम बसेर पहरा दिँदै आएका हुन् । कैलारी गाउँपालिका–६, सुर्मीका स्थानीयहरूले भने छाडा गाईगोरु जङ्गलमा छाड्ने र थुन्ने कार्य दैनिक गर्दै आएका छन् । स्थानीय वसन्त चौधरीका अनुसार गाउँलेहरूले सामुदायिक वनको छेउमा चौपाया थुन्न टहरा बनाएका छन्, जहाँ एक सय छाडाचौपाया राख्न सकिन्छ । तिनीहरूको व्यवस्थापन तथा छाड्ने र थुन्ने कार्यको लागि प्रत्येक दिन १८र२० जना खटिँदै आएका छन् । ११६ घरधुरी रहेको सुर्मी गाउँमा ६ समूह गाईगोरु व्यवस्थापनमा खटिँदै आएको छ । यसरी नै सुर्मी गाउँका स्थानीयहरू खेतबारीको अन्न जोगाउन वर्षभरि पालैपालो खटिँदै आएका छन् । तर टोलीमा नखटिन नचाहने व्यक्तिले भने वार्षिक १ हजार रुपैयाँ गाउँ समाजलाई बुझाउनुपर्ने नियम बनाइएको छ ।
दबस्थानीय वसन्त चौधरी भन्छन्, ‘यो छाडा चौपायाले गाउँलेलाई अतिरिक्त कामको भार थपिएको छ । नगरौँ भने बाली जोगिन्न । बाली जोगाउनलाई पनि यतिको गर्नैपर्छ ।’ छाडा चौपायाले हिउँदे बाली नोक्सान गर्न थालेपछि कतिपय ठाउँका किसानले वनजङ्गल क्षेत्रमा तारबार समेत गरेका छन् । वनमा रहेका छाडा चौपायालाई खेततर्फ आउन नदिनका तारबार गरिएको हो । कैलारी गाउँपालिका–७, छटकपुर बसन्ताका किसानले तारबार गरेका छन् । गाउँका पूर्वभलमन्सा जियाराम चौधरीले बसन्ता वन क्षेत्रमा रहेका छाडा चौपायाले कृषि उपजमा नोक्सान गरेर दुःख दिएपछि वन क्षेत्रमा तारबार गरेको बताए ।
कैलाली जिल्लामा पछिल्लो समय छाडा चौपाया समस्या विकराल बनेको छ । सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कैलाली र कञ्चनपुर जिल्लामा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । छाडा चौपायाले बाली नष्ट हुन थालेपछि किसानहरू चिन्तित बनेका छन् । यहाँका हरेक पालिकामा छाडा चौपाया व्यवस्थापन चुनौती बने पनि व्यवस्थापन कार्यले सार्थक पाउन नसकेको स्थानीयवासी बताउँछन् । सुदूरपश्चिम प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनको कार्य गर्दै आएको छ । प्रदेश सरकारले छाडा चौपाया राख्न गौशाला निर्माण गर्दै आएको छ । प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले विगतका वर्षमा झै चालु आर्थिक वर्षमा पनि व्यवस्थापन कार्य भइरहेको बताए । स्थानीय तहसँगको साझेदारीमा व्यवस्थापनको कार्य गर्न प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको मन्त्री थापाले जानकारी दिए ।रातोपाटीबाट